सुन्तला बिक्रीबाट राम्रो आम्दानी

गलेश्वर (म्याग्दी), १३ पुस : सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् ।

विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताउनुभयो ।

पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताउनुभयो । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु ५० हजारदेखि डेढ लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”

सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उहाँको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उहाँले भन्नुभयो, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।”

व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताउनुभयो । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर रु एक लाख ३० हजार आम्दानी गरेको उहाँले बताउनुभयो ।

यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएको रुन्माकी टीका विकले बताउनुभयो ।

“सुन्तलाबाट हुने आम्दानीले नै घरखर्च, केटाकेटीको पढाइ लेखाइ पुग्ने भएपछि लोग्नेले विदेशमा कमाएको रकम बचत हुने गरेको छ । बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताउनुभयो ।

सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो ।

यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा सात सय छ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष तीन हजार नौ सय पाँच मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।