जनतासँग माओवादी रुपान्तरण विशेष अभियान: ‘कार्यकर्तामा उत्साह र जनतामा आशा जगायो’

काठमाडौँ, १७ पुस : नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा मात्रै नभई अन्य समयमा पनि माओवादी जनताको बीचमा आउँछन् भन्ने अभियानबाट पुष्टि भएको जिकिर गर्नुभयो ।

“अभियान सफल भएको छ, टोल कमिटीदेखि सङ्गठन निर्माण भएका छन्, पार्टी तथा सङ्गठन सक्रिय भएको छ”, उहाँले भन्नुभयो, “पार्टीबाट पलायन हुने क्रम रोकिएर पुराना नेता कार्यकर्ता पुनः जोडिएका छन्, पार्टी प्रवेशको लहर चलेको छ ।”

अभियानले पार्टीलाई रुपान्तरण गरेर एकताबद्ध बनाएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले नेता, कार्यकर्ता र जनतामा नयाँ आशा र उत्साह पैदा भएको बताउनुभयो । “जनताको आशा माओवादी पार्टीसँगै रहेको पाइएको छ, जनताले अभियान निरन्तरताको माग गरेका छन्”, उहाँले भन्नुभयो ।

रुपान्तरण अभियानका क्रममा पार्टी, सङ्गठन तथा मोर्चामा रहेको अन्तरविरोध सतहमा आएको जनाउँदै प्रवक्ता सापकोटाले पार्टी विधानअनुसार चल्नुपर्छ भनेर कार्यकर्ताले नेतृत्वको ध्यानाकृष्ट गराएका बताउनुभयो । “पार्टीको नीति, निर्देशन नेतृत्व तहबाटै कार्यान्वयन हुनुपर्छ भनेर कार्यकर्ताले जोड दिनुभएको छ”, उहाँले भन्नुभयो ।

देशव्यापीरुपमा सञ्चालित अभियानको पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहबाट बृहद् समीक्षासहित प्रतिवेदन बनाउने तयारी भइरहेको जानकारी दिँदै उपाध्यक्ष सापकोटाले आसन्न केन्द्रीय समिति बैठकमा अभियानका बारेमा समीक्षा हुने बताउनुभयो ।

“पार्टीले पहिचान र पक्षधरतालाई प्रस्ट पार्नुपर्छ भन्ने कार्यकर्ताको मत छ”, अभियानका क्रममा कार्यकर्ता र जनताले ध्यानाकर्षण गराएको विषय उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले थालेका सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई थप सशक्त बनाउनुपर्ने जनताको माग छ ।”

माओवादी संस्कार र संस्कृतिप्रति पार्टी किन उदासीन भएको हो भनी जनताबाट प्रश्न उठेको उहाँको भनाइ छ । “संस्कार र संस्कृतिप्रति माओवादीको स्पष्ट र सुझबुझपूर्ण दृष्टिकोण थियो, अहिले उदासीन भएको हो कि भन्ने प्रश्न जनताको तहबाट आएको छ”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा उपाध्यक्ष सापकोटाले वर्तमान सरकारका कामले जनतालाई उत्साहित बनाएको बताउनुभयो । प्रधानमन्त्री दाहालले आर्थिक विकासलाई प्रमुख ‘एजेन्डा’ बनाउनुभएको उल्लेख गर्दै उहाँले कूटनीतिक क्षेत्रमा सरकारले सफलता प्राप्त गरेको बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।