ढकिया बुन्न सिक्दै थारु महिला

भरतपुर, १९ पुस : पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित हुनुहुन्छ । उहाँले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहनुभएको छ । उहाँजस्तै ३० थारु महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारु आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारु कल्याणकारिणी सभा चितवनको समन्वयमा थारु महिलाका लागि तालिम दिइएको हो ।

जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसक्नुभएको छ । उहाँले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिक्नुभएको छ । “पहिला केही पनि थाहा थिएन”, उहाँले भन्नुभयो, “तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।” उहाँले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरु तालिम लिन आएको बताउनुभयो । उहाँले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताउनुभयो । “परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ, उहाँले भन्नुभयो, “हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ ।” उहाँले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताउनुभयो ।

प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एक जनाले चार पाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताउनुभयो । तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उहाँले बताउनुभयो । “यहाँ हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “देश विदेशबाट आएका पर्यटकले लैजाने गर्नुभएको छ ।” यी सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उहाँले बताउनुभयो । “तालिमपश्चात् दिदीबहिनीले व्यावसायिक रुपमा काम गर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “सबैले निकै रुचिका साथ तालिममा नियमित सहभागिता जनाउनुभएको छ ।” तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ ।

अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताउनुभयो । “पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ ।” थारु समुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ । ढकिया थारु समुदायको पहिचान भएको भन्दै उहाँले पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेको उहाँले बताउनुभयो ।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारु महिलाको सहभागिता रहेको छ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ । थारु समुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँपुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताउनुभयो । थारु कला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले हस्तकला सामग्री पर्यटक र सोखिन मान्छेले किन्ने भएका कारण सीप र आयआर्जनसँग जोडेर महिलालाई यस्ता सीप सिकाउन अग्रसर गराउनुपर्ने उहाँले बताउनुभयो । चौधरीले तामिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीलाई सुझाव दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।