धनकुटा इजलासबाट ५ महिनामा १ सय ३२ वटा मुद्दा फर्छ्यौट
धनकुटा,१९ पुष । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८०÷०८१ को ५ महिनामा १ सय ३२ वटा मुद्दा फर्छ्यौट गरेको छ ।
धनकुटामा बिहिबार उच्च अदालत विराटनगर धनकुटा इजलासले आयोजना गरेको पत्रकारहरु संगको अन्र्तकृया कार्यक्रममा साउनदेखि मंसिर मसान्त सम्म २ सय ६३ थान मुद्दा मध्ये १ सय ३२ वटा मुद्धा फर्छ्यौट गरिएको जानकारी गराएको हो । अदालतमा जिम्मेवारी सरेको १ सय ३२, नयाँ दर्ता गरि २ सय ६३ मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
अदालतमा ५ महिनामा ४९ दशमलव ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिनुभयो । त्यस्तै उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि चालु आर्थिक वर्षको ५ महिनामा उल्लेख्य रुपमा मुद्दा फर्छ्यौट गरेको जनाइएको छ ।
धनकुटा जिल्ला अदालतले ३९ दशमलव ४३, तेह्रथुम जिल्ला अदालतले ३४ दशमलव ७६, भोजपुर जिल्ला अदालतले ४४ दशमलव ८६ र संखुवासभा जिल्ला अदालतले ५० दशमलव १८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतका रजिष्टार दाहालको भनाई थियो ।


