घर-घरमा विद्युतीय चुलो अभियानलाई सघाउ पुर्याउन स्वच्छ भान्छा सम्बन्धि अभिमुखिकरण कार्यक्रम शूरु
शर्मिला राई,धनकुटा । सन् २०३० सम्म सबैका लागि स्वच्छ भान्छा बनाउने राष्ट्रिय लक्ष प्राप्तिका लागि घर-घरमा विद्युतीय चुलो अभियानलाई सघाउ पुर्याउने लक्षका साथ आजबाट धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वच्छ भान्छा सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शूरु भएको छ ।
अजम्बरी विकास फाउण्डेशन ललितपुरको आयोजना तथा अमेरिकी विकास नियोग युएसएड (USAID) को सहयोगमा सञ्चालित कार्यक्रममा पालिकाका ६ वटै वडाका स्वास्थ्य स्वयम्सेविका र स्थानिय सहित तीन-तीन जना, धनकुटा नगरपालिकाका एक जनाले सहभागिता जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै छथरजोपाटी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपक गुरुङले समय अनुसार चल्न आवश्यक रहेको उल्लेख गर्दै विद्युतीय चुलो प्रयोगमा जोड दिनुभयो ।
विद्युतीय चुलो उपयोगवारे आम नागरिकको जानकारी तथा सचेतनाका लागि गाउँपालिकामा कुरा राख्ने र वडाको तर्फबाट पनि आवश्यक पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । उहाँले अहिले देश विद्युतमा आत्मा निर्भर भईसकेको भन्दै विद्युत उपयोगलाई प्रथामिक्तामा राखी राज्यको आर्थिक भार न्यूनिकरणमा सघाउ पुर्याउनु पर्ने बताउनु भयो । कार्यक्रममा अजम्बरी विकास फाउण्डेशनका कार्यक्रम अधिकृत कृष्ण दुवालले सहभागिहरुलाई प्रशिक्षण दिदै परम्परागत चुलो प्रयोगबाट निस्कने धुँवाले स्वास्थ्यमा पुग्ने असरको कारण नेपालमा प्रत्येक वर्ष करिब २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाईरहेको बताउनु भयो ।
त्यसैले स्वस्थ जीवनका लागि पनि विद्युतीय चुलोको उपयोग गर्न आवश्यक रहेको उहाँको भनाई छ । विद्युतीय चुलो प्रयोगले भान्छा सफा हुने, धुँवा रहित, समयको वचत, मानव स्वस्थका लागि फाईदा जनक, वनजंगल विनास हुनबाट जोगिने, बाढी पहिरो नियन्त्रणमा सघाउ पुग्ने जस्ता धेरै फाईदा हुने उहाँले वताउनुभयो । हाल एल पि जी ग्यासको आयातमा प्रत्येक वर्ष करिब ४० अर्ब रकम देश वाहिर गईरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले यसलाई रोक्न पनि देशमै उत्पादित विद्युतको उपयोगलाई जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आयोजक संस्थाकी व्यवस्थापक वविता अधिकारीले कोशी प्रदेश अन्र्तगत धनकुटा जिल्लाको धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउनु भयो । उहाँले यो कार्यक्रमले नीति निर्माणमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । उहाँले परम्परागत श्रोत (चुलो)मा खाना बनाउदा मानव स्वास्थ्यमा पर्ने असर, विद्युतीय चुलोको प्रयोगले हुने फाईदा लगायतको वारेमा जानकारी गराउनु भएको थियो ।
विद्युतीय चुलो प्रयोगले भान्छा सफा र आधुनिक देखिने, खाना बनाउन सजिलो र छिटो हुने, धुँवाजन्य रोगबाट बच्न सकिने, अन्य ईन्धन भन्दा किफायती, आगोजन्य दूर्घटनाको जोखिमबाट बच्न सकिने र स्वदेशी विजुलीको उपयोग बढ्ने वताईएको छ । यो कार्यक्रमका सहभागी छथरजोरपाटी गाउँपालिका वडा नं ३ करुञ्जेकी राजकुमारी लिम्बुले यो कार्यक्रम निक्कै उपयोगी रहेको वताउनु भयो ।
विद्युतीय चुलो प्रयोग स्वस्थ वद्र्धक हुने,भान्छा सफा हुने कुरा बुझेको भन्दै आवश्यक विद्युत खपत, चुलोमा लाग्ने खर्च सहित सबै कुरा बुझेर चुलो उपयोग गर्ने वताउनु भयो । त्यस्तै वडा नं ३ सिवुवाका चन्द्रा भट्टराई र सन्द्या भुजेलले पनि यो कार्यक्रम आफुहरुलाई उपयोगी लागेको बताउनु भयो ।
विद्युतीय चुलो चलाउनु तरिका, यसबाट हुने फाईदा लगायतको विषयमा जानकारी दिईने यो कार्यक्रम भोलिम्म चल्ने छ । संस्थाले यसअघिदेखि नै विद्युतीय चुलो प्रयोग सम्बन्धि कार्यक्रम धनकुटा नगरपालिकामा सञ्चालन गरिरहेको छ । कार्यक्रममा यो अभिमुखीकरणको जिल्ला सिनियर फिल्ड मोभिलाईजर दूर्गा खड्का, पालिका सिनियर फिल्ड मोभिलाईजर सहित विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको समेत उपस्थिती थियो ।


तस्विर: अशाेक साङ्पाङ राईकाे सहयाेगमा:-हिमाल एफएम ।


