मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

त्रिवेणी (नवलपरासी), २२ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते हुनुभयो । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा पर्नुभयो ।

यसैगरी गत मङ्सिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते हुनुभयो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुरका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन् । गैँडा, मृग, बँदेललगायतका जनावर वस्तीमा प्रवेश गर्न थालेसँगै क्षतिसमेत बढ्दो छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षतिसमेत पुर्याउन थालेसँगै समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले बताउनुभयो । “दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने बेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यतिमात्रै होइन साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो । दिनहुँजसो गैँडा बस्तीमा आएर दुःख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको क्षति बढ्दो रहेको मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । पटक–पटक वन्यजन्तुले बालीनाली, चौपायामा क्षति पुर्याउने तथा मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको उहाँले बताउनुभयो ।

मध्यवर्तीमा वन्यजन्तुको समस्याले गर्दा बसाइँसराइको प्रभाव पार्दै आएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो । “वन्यजन्तुले दुखः दिन्छ भनेपछि बसाइँसराइ गरी आउने कम हुने त भयो नै भएका पनि आजित भएर सक्ने अन्यत्र जान थालेका छन्”, उहाँले भन्नुभयो । वन्यजन्तुकै कारण हिजो मध्यवर्ती क्षेत्रका पुराना बस्ती पातलिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

संरक्षणकर्मी प्रेमशङ्कर मर्दनिया थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताउनुभयो । “वनभित्र वन्यजन्तुको बासस्थान सुधार गर्ने, पर्याप्त आहारा हुनेगरी घाँसेमैदान निर्माण गर्ने साथै पर्खालसहितको मेसजाली लगाउने काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यसबाट वन्यजन्तु बस्तीतर्फ आउने क्रम कम हुन्छ र क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।” वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट योजना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

मध्यवर्तीका कारण आर्थिक विकासमा असर परेको कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । मध्यवर्तीकै कारण विकासका काम गर्न बाधक भएको तथा यहाँका बासिन्दाले आफ्नो सम्पत्तिको सही उपभोग गर्न समस्या परेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुले पुर्याएको क्षतिमात्रै नभएर मध्यवर्तीले विकासका काममा समस्या पारेको नगरप्रमुख भुसालले बताउनुभयो । “हामी संरक्षणविरोधी होइन, तर ऐन, कानुन जनतालाई सहज पार्ने हुनुपर्यो, कुनै बिरुवा लगाए त्यसको प्रयोगका लागि निकुञ्ज धाउनुपर्छ, विकासका काम गर्न उस्तै बाधा अड्चन छन्”, उहाँले भन्नुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।