बजारीकरणको अभावमा लोप हुँदै गुन्द्री

अत्तरिया (कैलाली), २२ पुस : पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ । आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउनलगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम हुँदै गएको छ ।

बजारमा कम मुल्यमा प्लाष्टिकका गुन्द्री पाइन थालेपछि बुनेका गुन्द्री बिक्न छाडेकाले स्थानीय बताउँछन् । बाबियो र जुटको तानमा पटेराको प्रयोग गरेर बनाइने गुन्द्री अहिले बिरलै देख्न पाइन्छन् । गाउँघरमा पक्की घर बनेसँगै घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दै गएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगर टोलकी ५० वर्षीया भाग्गीदेवी सार्कीले विगत लामो समयदेखि पटेरोको गुन्द्री बुन्दै आउनु भएको छ । उहाँले पहिले सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बिक्री गर्ने गरेको बताउनुभयो । आजभोलि कहिलेकाहीँ मौत्र बुन्ने गरेको उहाँको भनाइ थियो ।

“पहिले गुन्द्री राम्रै बिक्री हुन्थ्यो । सिजनमा सात सयदेखि आठ सयसम्म गुन्द्री बेच्थ्यौँ । अहिले बिक्री हुँदैनन् । मेहनत पनि धेरै लाग्छ । त्यसैले कहिलेकाहीँ मात्रै गुन्द्री बुन्ने गर्छौँ”, सार्कीले भन्नुभयो, “यो गाउँमा पहिले करिब ६५ परिवारले गुन्द्री बुन्ने काम गर्नुहुन्थ्यो । अहिले चार/पाँच जनाले मात्रै बुन्छौँ ।” आजभोलि पटेरोको अभाव हुने भएकाले पनि गुन्द्री लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

लागत धेरै लाग्ने र बिक्री गर्न समस्या हुने भएकाले गुन्द्री बुन्ने चलन कम हुँदै गएको सोही गाउँका वीरबहादुर सार्कीले बताउनुभयो । ७२ वर्षीय वीरबहादुरले पुख्र्यौली पेसा भएकाले पहिलेदेखि नै गुन्द्री बुन्ने काम गर्दै आएको बताउँदै अहिले यसको प्रयोग घटेसँगै कहिलेकाहीँ मात्रै बुन्ने गरेको सुनाउनुभयो ।

“यसमा लागत र समय धेरै लाग्छ । पटेरो किनेर ल्याउनुपर्छ । बजारमा प्लास्टिकका गुन्द्री सस्तोमा पाइन्छन् । यसको एउटा गुन्द्री किन्ने पैसाले दुई प्लाष्टिकका आउँछन् । बिक्री गर्नै समस्या छ”, वीरबहादुरले भन्नुभयो, ““यसको महत्व बुझेकाले अझै पनि किन्नुहुन्छ । न्यानो हुन्छ भन्नुहुन्छ । पक्कीघरमा यसको प्रयोग गर्दा फोहर हुन्छ भन्छन् किन्न मान्दैनन् ।” पहिले सिजनमा दुई सय ५० वटासम्म गुन्द्री बुन्ने गरेको भन्दै अहिले १५/२० मात्रै बुन्ने उहाँले जानकारी दिनुभयो ।

अहिलेका पुस्तामा गुन्द्री बुन्ने सीप नै नभएको वीरबहादुरको भनाइ थियो । उहाँले भन्नुभयो, “नयाँ पुस्तामा यसको सीप नै छैन । काम पनि झन्झटिलो छ । गुन्द्री बुन्नलाई दुई जना अनिवार्य चाहिन्छ । नयाँ पुस्ताले कसैले पनि यो काम गर्दैनन् ।”

पुख्र्यौली पेसा नयाँ पुस्तामा हस्तारण हुन नसक्नु, बजारमा पाइने प्लास्टिकका सामग्रीले रैथाने सामग्रीलाई विस्थापित गर्नुलगायत कारणले गुन्द्री बुन्ने पेसा लोप हुँदै गएको धनगढी–६ की वडा सदस्य रीता मगराती (सार्की)ले बताउनुभयो । “सीप हस्तारण हुन नसक्दा गाउँघरमा गुन्द्री बुन्ने चलन कम हुँदै गएको हो”, उहाँले भन्नुभयो, “बजारीकरणमा पनि समस्या छ । यसलाई समयानुकूल आधुनिकीकरण गर्न सकिएको छैन् ।” यसका लागि आवश्यक पर्ने पटेरोको उत्पादन बढाउन सके केही सहज हुने उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।