चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

सल्लेरी ( सोलुखुम्बु ) , २४ पुस : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । “खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँ जमेका छन्, त्यसैले विकास निर्माणमा कङ्क्रिटका काम सबै ठप्प छ, हिउँ नपग्लेसम्म काम सुरु हुने अवस्था छैन”, वडाध्यक्ष अधिकारीले भन्नुभयो । रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उहाँको भनाइ छ ।

हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायतका काम रोकिएको वडा कार्यालयले जनाएको छ । ती योजना कतिपय अन्तिम चरणमा पुगिसकेका छन् भने केही भर्खरै सुरु भएका योजना रहेको वडा सदस्य ङिमायाङ्जी शेर्पाले जानकारी दिनुभयो । पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले सो क्षेत्रमा विकास निर्माणले गति लिन नसक्ने सदस्य शेर्पाले बताउनुभयो ।

आर्थिक वर्ष नै बाधक

सामान्यतय देशका अन्य स्थानमा आर्थिक वर्षको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आर्थिक वर्ष नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउनुभयो । सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने भएकाले विकास निर्माणमा सिमेन्टका काम सुरु गर्न नसकिने उहाँको भनाइ छ ।

माथिल्लो क्षेत्रमा विकासका योजनाको काम फागुन अन्तिम साताभन्दा अघि सुरु गर्न नसकिने हुँदा आफूहरूका लागि साउनबाट सुरु भएर असार मसान्तमा सकिने आर्थिक वर्ष नै विकासको बाधक भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकासका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरु ठाउँमा एक आवभर नै विकासका काम गर्न सहज छ भने हामीलाई निकै कठिन छ, साउनबाट नयाँ आव सुरु हुन्छ, भदौ–असोजतिर बजेट निकासाको अख्तियारी आउँछ, कात्तिकबाट चिसो सुरु हुने भएकाले काम गर्न सकिन्नँ, त्यसो हुँदा चैतबाट करिब तीन महिनाभित्र सबै काम सक्नुपर्ने बाध्यता छ ।” अधिकांश समय चिसो हुने र हिउँले सेताम्मे हुने खुम्बुको माथिल्लो क्षेत्रका नागरिक हरेक समस्यासँग जुध्न बाध्य छन् । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।