माघ ६ गते बेलायत जाँदै थिइन्, प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन

बलेवा (बागलुङ), २९ पुस : सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्याैली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहनुहुन्थ्यो ।

दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेक्नुभयो । तर त्यो बाटो अब कहिल्यै फर्किनुहुने छैन । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाउनुभयो । दुर्घटनामा उहाँको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लाग्नुभयो । दीपक पहिलेदेखि नै बेलायत बस्नुहुन्थ्यो । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याउनुभएन । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लाग्नुभयो ।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उहाँहरू नेपाल आउनुभयो । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आउनुभएकी सञ्जिताको रहरअनुसार दीपक र उहाँको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुग्नुभयो । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते हुनुभएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भन्नुभयो ।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउनुहुन्छ मनकुमारी । गत पुस २६ गते साँझ उहाँहरू गाउँ पुग्नुभएको थियो । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उहाँको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाउनुभएका दीपक दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ ।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमान्को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आउनुभएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उहाँका आफन्त विवराज, जोगनारायण गैरे र उहाँकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उहाँकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उहाँहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।