लिम्बू जातिले मनाए नयाँ वर्ष

म्याङलुङ (तेह्रथुम), १ माघ : माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ ।

येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताउनुभयो । लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ–१ का बलदेव तुम्बाहाङ्फेले बताउनुभयो ।

साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई चार ऋतुमा विभाजन गरेका थिए । पात्रोको निर्माण हुनुअघिको समयलाई मौसम परिवर्तनअनुसारको ऋतुमा विभाजन गरिएको हो । अन्नपात सकिएर तरुल, भ्याकुर, कन्दमूलसमेत खाएर जीवनयापन गर्नुपर्छ भनेर पुस, माघ र फागुनको समयमा कक्फेक्वा ऋतु बनेको हो । त्यसपछिको ऋतु यक्वा अर्थात् खडेरी पर्ने भएकाले पानी माग्ने गरिन्छ । बीउबिजन लगाएर फल्न फुल्न थालेपछिको ऋतु सिसेक्वा र बालीनाली पाकेपछि थन्क्याउने समय चासोक हो ।

कक्फेक्वा तङ्नामकै समयमा लिम्बू जातिले कुसङ् तङ्बे अर्थात् नयाँ वर्ष भनेर पनि मनाउँछन् । किरात राजा यलम्बरको शासनकालदेखि यता गनेर मानिने संवत्लाई लिम्बू जातिले येले तङ्बे भन्दछन् । याक्खा जातिले यले दोङ, वान्तबा राईहरुले येले दोङ, सुनुवारले येले थोचे भन्दछन् । जुन अहिले ५०८४ पुगेको छ ।

हिजै घर तरुल खनेर, वनतरुल खोजेर तयार पारेको आज बिहान काँचो तरुलको टीका लगाएर उसिनेको वनतरुल, घरतरुल, सेलरोटी खाँदै गाउँघरमा कक्फेक्वा तङ्नाम अर्थात् माघेसङ्क्रान्ति मनाउने तयारी गरिरहेको म्याङलुङ–९ का लक्ष्मी लिम्बूले बताउनुभयो ।

त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मा मगर समुदायको सांस्कृतिक पर्व ‘माघ्या सकराँटी’ पर्व जिल्लाभरका मगर समुदाय भेला भएर मनाइरहेको नेपाल मगर सङ्घ माघ्या सकराँटी पर्व सारल्हेस व्यवस्थापन उपभोक्ता समिति तेह्रथुमका अध्यक्ष मीनबहादुर मगरले बताउनुभयो । त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा माघे सङ्क्रान्तिका अवसरमा मेला, खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।