भोजपुरको पौवादुङमा माघी मेला
टक्सार (भोजपुर) : भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा सञ्चालित गोल्डकप तथा माघी मेला सुरु भएको छ । खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गोल्डकप सञ्चालित भएको हो ।
गाउँपालिकाको केन्द्र च्याङ्ग्रेको रङ्गशालामा हुने फुटबल तथा स्थानीय माघी मेला आगामी माघ ९ गतेसम्म सञ्चालन हुनेछ । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताउँदै सीमित स्रोतसाधनका कारण प्रतियोगिता सञ्चालनका लागि रु एक लाख सहयोग गर्ने बताउनुभयो ।
सो क्रममा पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले खेलकुद क्षेत्रको विकासका लागि आयोजना गरिएको कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । पौवादुङमा गोल्डकप फुटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताअन्तर्गत सहिदभूमि गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुइँचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लब चम्पे, नेपाल प्रहरी विराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटबल क्लब च्याङ्ग्रे, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, एँेसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटबल क्लब च्याङ्ग्रे, तिवारीभञ्ज्याङ फुटबल क्लब, श्रीनयाँ श्रीनाथ गण भोजपुर र फेन्डस क्लब तिवारीभञ्ज्याङको सहभागिता रहने मूल आयोजक समितिका संयोजक चोलप्रसाद आलेले जानकारी दिनुभयो । पहिलो खेल सहिदभूमि गाउँपालिका र अरुण गाउँपालिकाका बीच हुनेछ ।
प्रतियोगिताअन्तर्गत विजेता टिमले नगद रु तीन लाख र उपविजेताले नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनही रु पाँच हजारका साथमा ट्रफी र उत्कृष्ट खेलाडीले नगद रु १५ हजार साथमा ट्रफी पाउने आयोजक समितिका सचिव देउमान राईले बताउनुभयो । यही माघ १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता तथा मेलामा राष्ट्रिय कलाकार शम्भु राईसहित कलाकारको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
–रासस


