महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर), २ माघ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुग्नुभएका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताउनुभयो । “साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ ।”

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिनुभयो । करिडोर अनुगमन गर्दै परशुरामधाम पुग्नुभएका उहाँसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो ।

“करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) मा हल भएर निर्माण अघि बढेको छ । करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौँ, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ”, प्रमुख सचेतक लेखकले भन्नुभयो । विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उहाँले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

“हरेक वर्ष फागुनदेखि जेठसम्म लाखौँ भारतीय भक्तजन पूर्णागिरिपछि सिद्धनाथ मन्दिर दर्शन गर्न आउँछन्”, नेता लेखकले भन्नुभयो, “अब सिद्धनाथ मन्दिर आउने पर्यटकलाई करिडोर हुँदै परशुरामधाम पुर्याउनेगरी प्रचार–प्रसारमा जोड दिनुपर्छ ।” उहाँले परशुराम धामको धार्मिक महत्वका बारेमा पूर्णागिरि मेला अवधिमा प्रचार–प्रसारमा जोड दिन आग्रह गर्नुभयो । पछिल्लो समय महाकाली करिडोरको ट्रयाक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुरामधाम जानेको चहलपहल बढेको छ ।

नेता लेखकले करिडोरका लागि आवश्यक बजेट सरकारले प्रबन्ध गर्ने र यसलाई दोधारा चादँनी सुक्खा बन्दरगाहसित जोडेर आर्थिक नाकाका रूपमा समेत विकास गरिने बताउनुभयो । कञ्चनपुरबाट दार्चुलाको उत्तरीनाका तिङ्कर जोड्ने महाकाली करिडोरका कारण लामो समयपछि कञ्चनपुर–डडेल्धुराको यात्रा सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत भएको छ । ब्रह्मदेवबाट दार्चुलाको उत्तरी नाका तिङ¬्कर भञ्ज्याङसम्मको चार सय १३ किलोमिटर सडक १३ वर्षदेखि निर्माणाधीन छ ।

पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको उक्त करिडोरअन्तर्गत ब्रह्मदेवबाट १५ किलोमिटरसम्म ( जोगबुढा) ट्रयाक खुलेको छ । करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्रयाक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले लिएको छ । करिडोर अनुगमनमा सोमबार नेता लेखकसँगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट तथा प्रदेशसभा सदस्यहरु प्रकाश रावल, बेलबहादुर राना, ओमप्रकाश भाट र मधुदेवी भारती, भीमदत्त र परशुराम नगरपालिकाका प्रमुखलगायतको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।