शिक्षामा फड्को मार्दै बझाङका सामुदायिक विद्यालय

थलारा (बझाङ), २ माघ : कालिका आधारभूत विद्यालय बिस्खेत थलाराका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय हिजोआज आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उहाँको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ ।

खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी एवं विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाही पनि विद्यालयबाट बाहिर जान खासै मन गर्नुहुन्न । दशकअघि र अहिले विद्यार्थीलाई पढाउँदा आफैँलाई फरक महसुस भइरहेको उहाँले बताउनुभयो । “विद्यालयमा त पहिले पनि पढाइन्थ्यो । तर पहिलेको भन्दा केही वर्षयता निकै फेरिएको छ”, शाहीले भन्नुभयो, “उहिले कतिबेला विद्यालय समय सकिएलाजस्तो लाग्थ्यो । आजभोलि विद्यालय समय चाँडै बित्न थाल्योजस्तो लाग्छ ।”

उहाँका अनुसार विद्यालयमा आजभोलि सबै जना घरपरिवारका सदस्यजस्तै लाग्ने गर्छन् । “विद्यार्थी तथा शिक्षक परिवारका सदस्यजस्तै लाग्छन् । पहिले पढाउँदा निकै टाउको दुख्थ्यो । विद्यार्थीलाई बुझाउनै सकिँदैनथ्यो । आजभोलि शैक्षिक सामग्री, बसाइ व्यवस्थापन, शिक्षक–विद्यार्थीबीचको घनिष्टताले सिकाउन निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा शाहीको शालीनतालाई सबैले सम्मान गर्छन् । उहाँ पनि आफ्नो सिकाइ तथा व्यवहार परिवर्तन गरेको जस सिकाइ परियोजनालाई दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीप्रतिको मेरो व्यवहार परिवर्तन हुनुको जस सिकाइ परियोजनालाई दिन्छु । पहिले बालबालिका र मेरो दूरी निकै टाढा हुन्थ्यो । अहिले पारिवारिक सदस्यको जस्तै छ ।” परियोजनाले विभिन्न तालिम नदिएको भए यो परिवर्तन आउन नसक्ने उहाँले बताउनुभयो । “मलाई ज्ञान, सीप सबै थियो तर प्रयोग गर्न नजानेको रहेछु, अहिले परियोजना देउताजस्तै खडा भएर आयो ।”

शाहीको जस्तै अनुभव भगवती आधारभूत विद्यालयका शिक्षक जन्मदेव ओझाको छ । ओझा पनि विद्यालयको समयभन्दा बढी शिक्षक विद्यार्थीसँगै दिन बिताउनुहुन्छ । जिल्लामा शिक्षकका लागि क्षमता विकास तालिम लिएपछि आफूलाई अध्यापन गराउन सहज भएको उहाँले बताउनुभयो ।

तालिममा कक्षाकोठा व्यवस्थापन र सामग्री निर्माण तथा व्यवस्थापन गर्दा शिक्षक–विद्यार्थीबीचको सम्बन्ध सौहाद्र्रपूर्ण हुने उहाँले बताउनुभयो । “शिक्षकले यता भने विद्यार्थी उता जान्थे”, उहाँले भन्नुभयो, “विद्यार्थीले नपढेमा, शिक्षकले भनेको अटेर गरेमा डण्डा चलाउनुपथ्र्यो । आजभोलि पठनपाठन सहजताका लागि पर्याप्त शैक्षिक सामग्री कक्षाकोठामै छन् । ती सामग्री हेरेर पढाउँदा विद्यार्थीले पनि बुझ्छन् । हामीलाई पनि पढाउन सजिलो हुन्छ ।”

केही वर्षयता भने विद्यालयमा विद्यार्थीमाथि दमन पूर्णरूपमा बन्द गरेको उहाँले बताउनुभयो । “गर्न चाहेमा विद्यालयलाई घरजस्तै बनाउन सकिँदोरहेछ”, उहाँले बताउनुभयो । थलारा गाउँपालिकाका दुई विद्यालयमात्रै नभई पालिकाका सबै विद्यालयको मुहार फेरिएको छ । प्रविधिमैत्री, उपकरणमैत्री, आधुनिक सिकाइमैत्री वातावरणमा बालबालिका रमाएर पढ्न थालेका छन् । विद्यालय परिवर्तनको श्रेय सिकाइ परियोजनालाई जान्छ ।

युएमएनको सहयोग तथा प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित सिकाइ परियोजना लागू भइसकेपछि थलारा गाउँपालिकाका सामुदायिक विद्यालय रूपान्तरण भएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना लागू भएपछि शिक्षामा निकै योगदान भएको छ । परियोजना थप भए अझै थलारामा शिक्षाले फड्को मार्ने थियो ।”

उहाँका अनुसार सामुदायिक विद्यालय विद्यार्थीको आनीबानी, सरसफाइ, शैक्षिक सामग्रीको व्यवस्थापनमा धेरै सुधार भएको छ । आफूले अनुगमन गर्दा बालबालिकाले करेसाबारी, फूलबारी बनाउनुपर्छ भन्ने सिकाइ भएको उहाँले बताउनुभयो ।

प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी पनि आफूले सामुदायिक विद्यालयमा गरेको प्रयासले केही परिवर्तन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबैको सहकार्यमा आफ्नो पहिलो चरणमा काम पूरा गरेका छौँ । विद्यालय फेरिनुमा धेरैको सहयोग रहेको छ ।” उहाँका अनुसार गुणस्तरीय शिक्षाको पहुँचमा वृद्धि गर्ने लक्ष्यका साथ पालिकामा काम गरेका हौँ । केही हदसम्म लक्ष्य पूरा भएको उहाँले बताउनुभयो ।

परियोजनाको अवधिभर सिकाइ आदान–प्रदानमा शिक्षकको घुम्ती बैठक, दुई सय ५४ जना विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षकले तालिम प्राप्त गरेका छन् । जोशीका अनुसार १६ वटा विद्यालयमा शौचालय निर्माण तथा मर्मत, १३ वटा विद्यालयमा खानेपानी व्यवस्था, छवटा विद्यालयका १४ वटा कक्षाकोठा मर्मत तथा सुधार, १२ जना अभिभावकलाई शिक्षासम्बन्धी तालिम, १२ जनालाई दक्ष प्रशिक्षक तालिम, छवटा स्थानमा पढाइ क्लब गठनलगायतका काम गरेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।