वेतौनालाई ‘इको भिलेज’बनाउँदै जीवन विकास

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँलाई इको भिलेज(वातावरण मैत्री गाउँ)बनाउने भएको छ । धनपालनान गाउँपालिका– ३ र ४ मा पर्ने वेतौना गाउँलाई ‘इको भिलेज’ बनाउने भएको हो ।

वेतौनामा दुई सय घर धुरी छन् । उनीहरूको पेशा परम्परागत कृषि हो । दुई सय परिवारको आर्थिक हैसियत दुई वर्षमा सुधार गर्ने उद्देश्यले लघुवित्तले इको भिलेज निर्माणको काम सुरु गरेको हो ।

स्थानीयको आर्थिक हैसियत उकास्न लागि पाँच वटा सूचकमा काम थालिएको लघुवित्तका नायब कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए । उनका अनुसार आर्थिक, प्राविधिक, सीप विकास, बजारीकरण र वातावरण संरक्षणका लागि लघुवित्तले काम गर्नेछ ।

उनका अनुसार गाउँका बासिन्दाका लागि पशुपालन र तरकारी खेतीका लागि सहुलियत व्याजमा संस्थाले ऋण उपलब्ध गराउनेछ । किसानले पालेका पशुको बिमा र उपचारमा संस्थाले सहयोग गर्नेछ । खेतीका लागि किसानको सीप विकासमा काम गर्नेछ । किसानले उत्पादन गरेको दूध र कृषि उपजको बजारीकरणमा संस्थाले सहजीकरण गरिदिनेछ ।

गैर नाफा मूलक संस्था जीवन विकास समाजले धनपालथान मै प्राङ्गारिक मल र बायोग्यास उद्योग स्थापना गरेको छ । करिब १० करोड लागतमा स्थापित उद्योगले गाउँका किसानबाट गोबर खरिद गर्ने योजना बनाएको छ । गाउँमा कच्चा पदार्थ नभेटेका कारण उद्योगले विराटनगर र आसपासका क्षेत्रबाट गोबरलगायतको कच्चा पदार्थ संकलन गरिरहेको छ ।

वातावरण संरक्षणका लागि संस्थाले स्थानीयलाई धुवाँरहित विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहन गर्नेछ । कृषि र पशु पालनको आम्दानीले किसानको जीवनस्तर उकास्ने रेग्मीले बताए । ‘पशु पालनका लागि सहुलियत ऋण दिने र दूध र गोबर बिक्रीबाट किसानले आम्दानी गर्छन,’उनले भने,‘ आम्दानी बढेपछि जीवनस्तरमा सुधार आउनेछ ।’

स्थानीय किसानसँग छलफलका क्रममा जीवन विकासका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले दुई वर्ष भित्र वातावरण मैत्री नमुना गाउँ बन्ने बताए । वेतौनापछि धनपालनाथ गाउँपालिका र मोरङ क्षेत्र नम्बर ५ लाई नै नमुना बनाउने योजना रहेको उनले बताए ।

कृषि र पशुपालनमा आत्मनिर्भर बनाउनका लागि गाउँलाई इको भिलेज बनाउन लागिएको उनको भनाई छ । ‘ भोलि कसैले उदाहरण दिदा मोरङ क्षेत्र नम्बर ५ जस्तो बनाउँछु भन्ने गरी नमुना बनाउने योजना छ,’ उनले भने,‘ पहिलो चरणमा वेतौना गाउँलाई इको भिलेज बनाउन साथ दिनुहोस्, त्यसपछि वडा र पालिका हुँदै क्षेत्रलाई बनाउनुपर्छ ।’

मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का सांसद गयानन्द मण्डलले किसानको जीवनस्तर उकास्ने इको भिलेजको योजना कार्यान्वयनका लागि गाउँका नागरिक अग्रसर हुनुपर्ने बताए । सहुलियत ऋण र बजारीकरणको जिम्मा संस्थाले नै लिने भएकाले किसानलाई फाइदा पुग्ने उनले बताए ।

धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले जीवन विकासले अघि सारेको इको भिलेजको योजनामा पालिकाले सहकार्य गर्ने बताए । कृषि र पशु पालक किसानका लागि प्राविधिकसँगै अन्य सहयोग गर्ने उनले बताए । सबैको उद्देश्य किसानको जीवनस्तर उकास्ने रहेको बताउँदै वातावरण मैत्री गाउँको योजनाले वेतौनाको जीवनस्तर सुधार गर्ने बताए ।

धनपालनान गाउँपालिका– ३ का अध्यक्ष नागेश्वर मण्डल र वडा नम्बर ४ का अध्यक्ष रामु चौधरीले इको भिलेज निर्माणको योजनामा वडाले पनि सहयोग गर्ने बताए । हंशबाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक गौरीशंकर मण्डल र गौतमबुद्ध आधारभूत विद्यालयकी प्रधानाध्यापक सुनिता मुर्मुले सहुलियतपूर्ण ऋण सहयोगमा सुरु हुने व्यावसायिक कृषि र पशु पालनको योजनाले किसानलाई फाइदा हुने बताए ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि इको भिलेजको योजना अघि सारेको बताए । पहिलो चरणमा वेतौनाबाट इको भिलेज कार्यक्रम सुरु गरेको बताउँदै उनले अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताए । ‘सामाजिक जिम्मेवारीसहित समुदायलाई आत्मनिर्भर तथा वातावरण मैत्री बनाउनका लागि यो योजना सुरु गरेका छौं,’ उनले भने,‘ग्रामीण क्षेत्रको विकासका लागि यो कार्यक्रम अपरिहार्य छ ।’

हुलाकी राजमार्ग दक्षिणको समुदाय आर्थिक हिसाबले पछि परेको बताउँदै उनले इको भिलेजले सामाजिक चेतना र जीवनस्तरमा सुधार आउने बताए । ‘आफ्ना लागि काम गरौं,आफ्ना लागि काम गर्दा सुविधा आफै पाउनुहुन्छ,’ उनले भने,‘ यो कार्यक्रम सुरु भए जीवनस्तर आफै सुधार हुन्छ,परिवार र समाजको खुसी बढ्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।