मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

बलेवा (बागलुङ), २ माघ :पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो ।

गत महिना बागलुङबजारमा आयोजना गरिएको बागलुङ महोत्सवमा पनि यहाँका स्थानीयका साथै महोत्सवमा किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिक पनि यहाँको स्थानीय उत्पादनको खरिद गर्न झुम्मिएका थिए ।

त्यस महोत्सवको प्रमुख आकर्षण बनेको थियो, सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो र जिल्लाको उत्पादन कालो भटमास । उता राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सवको उद्घाटन गरिरहँदा यता भने मेलाका सहभागी स्थानीय उत्पादन राखिएका ‘स्टल’ मा झुम्मिएका देखिन्थे ।

यस्तै भएको छ सोमबारबाट सुरु भएको तेस्रो जैमिनी महोत्सवमा पनि । जिल्लाको दक्षिणी भेगमा अवस्थित जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेराबजारमा सहारा क्लब कुश्मीशेराले आयोजना गरेको महोत्सवमा पनि यहाँका स्थानीय एवं महोत्सव हेर्न र किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिकको आँखामा स्थानीय उत्पादन नै परेको छ ।

यही मेसोमा महोत्सवको उद्घाटनका लागि आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि आयोजकले यही कोसेली दिएका छन् । महोत्सवको उद्घाटन कार्यक्रम सकिएपछि अतिथिहरुलाई मायाको चिनो दिने त यहाँको प्रचलन नै हो । सोही बमोजिम मुख्यमन्त्री पाण्डेलाई पनि आयोजकले एक डाली चिनो दिएका थिए ।

डाली थियो स्थानीय बाँसको चोयाले बुनेको र त्यसमा राखिएको कोसेली थियो, भाँगो, भटमास, बाँकोको गुन्द्रुक, सिस्नोको धुलो र आलुको चिप्स । जब उहाँलाई उपलब्ध गराइएको सो चिनोको जानकारी उद्घोषकले गराए, त्यसपछि मेलाका सहभागी र स्थानीयले बरर ताली बजाए । उनीहरु भन्दै थिए “मुख्यमन्त्रीज्यू, यो मायाको चिनो हाम्रा स्थानीय उत्पादन हुन् । यहाँले हाम्रा यी उत्पादनलाई गण्डकी प्रदेशमा मात्र होइन देशव्यापी रुपमा चिनाउनुपर्छ र यिनको उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।

स्थानीय उत्पादनका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराउने, प्रचार गर्ने र ध्यानाकर्षण गराउने काम आयोजकले एकैपटक गरे । जैमिनीका किसान आफैँले उत्पादन गरेका यी खाद्यवस्तु मुख्यमन्त्रीले मायाको चिनोका रुपमा मात्रै ग्रहण गर्नुभएन, यी उत्पादन बढाउने र बजारीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मायाको चिनो प्रदान गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, “यो कोसेलीमार्फत मुख्यमन्त्रीलाई हाम्रो उत्पादनको चिनारी दिएका हौँ । यसले हाम्रा उत्पादनप्रति उहाँको रुचि जागोस् भन्ने हाम्रो उद्देश्य हो । नीति बनाउँदा, बजेट बनाउँदा हाम्रा उत्पादनले उहाँलाई झक्झकाउँछन् भन्ने हामीलाई विश्वास छ । यो हाम्रा उत्पादनको प्रचार गर्ने नयाँ शैली पनि हो र मायाको चिनो दिँदा काम लाग्ने चीज दिउँ भन्ने सन्देश पनि हो ।”

डाली हातमा लिएपछि मुख्यमन्त्रीको हाउभाउ हेर्दा लाग्थ्यो–मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने उहाँले ठान्नुभएको थियो । “मुख्यमन्त्रीजी हामीले यहाँलाई हाम्रै उत्पादन उपहार दिएका छौँ”, कार्यक्रम उद्घोषण गरिरहेका स्थानीय शिक्षक नवीनप्रताप जिसीले भन्नुभयो, “हाम्रा किसान दाजुभाइको मेहनत मुख्यमन्त्रीलाई दिन पाउनु हाम्रो गौरवको कुरा हो, यो चिनोका अनेक सन्देश छन् । यहाँले बुझिदिनुहोला ।”

जैमिनी नगरपालिका–३ दमेकका किसानले तयार गरेको जङ्गली बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, दमेककै भाँगो र पैयुँथन्थापको भटमास तथा दमेककै आलुको चिप्स सो डालीमा राखिएको थियो । स्थानीय मेला महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु र त्यहाँको कला र संस्कृतिको जगेर्ना गर्नु हो । यही उद्देश्य अनुसारको शैली जैमिनी महोत्सवका आयोजकहरुले पनि अपनाएको देखिएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।