थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

कञ्चनपुर, ३ माघः कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।
स्थानीय तहहरुले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पु¥याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएका आएका छन् ।

कार्यक्रममा थारू बूढापाकाहरुबाट तन्नेरीहरुले थारू समुदायको परम्परागत लवाइखुवाइ र रहनसहनका साथै संस्कृतिसँग सम्बन्धित गीत, नृत्य, चालचलन सिक्ने मौका पनि पाउने गरेका छन् । “संस्कृतिसँग सम्बन्धित पुराना कुराहरु युवाले सिक्ने मौका पाउने गरेकाले थारू समुदायको परम्परा थामिएको छ,” शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “बूढापाकाहरुबाटै हराउँदै गएका सजना, धमारलगायत गीतहरु सुन्ने मौका पाएका उनीहरू सिक्न उत्सुक छन् ।”

नयाँ पुस्तालाई पुराना धार्मिक र सामाजिक भावनाले ओतप्रोत गीतहरु सुनाउने मौका पाइएको जोनापुर गाउँका पूर्ववडघर मनिराम डगौराले बताउनुभयो । गीतसँगै पुस्तान्तरण हँुदै आएका सखिया, झुम्रा, हुरदङ्ग्वा, छोक्रा, मघौटालगायत नृत्यहरु माघी मिलनजस्ता कार्यक्रममा देखाउने मौका पाइने गरिएको वडघर गहनु डगौराले उल्लेख गर्नुभयो । “केही वर्षअघि पश्चिमी संस्कृतिको सिको गर्दै युवाले आफ्नो परम्परा, संस्कृति र पहिरन भुल्दै जान थालेका थिए,” उहाँले भन्नुभयो, “देशमा लोकतान्त्रिक गणतन्त्र सुरुआत भएसँगै जनप्रतिनिधि चुन्न थालेपछि संस्कृति जोगाउनका लागि बजेटको व्यवस्था हुन थाल्या र कार्यक्रम हुन थालकाले पुराना संस्कृति जोगिएका छन् ।”

बूढापाका महिलाले मात्रै लेहङ्गा चोली पहिला बनाउने गरेको उल्लेख गर्दै गहनुले हाल लेहङ्गा चोली बनाउने तालिम नै स्थानीय तहले सञ्चालन गर्न थालेपछि युवा महिलाले पनि लेहङ्गा सहजरुपमा बनाउने गरेको बताउनुभयो । निकै आकर्षक बुट्टा भएर लेहङ्गा बजारमा बिक्रीसमेत हुन थालेको उहाँको भनाइ थियो । लेहङ्गा निकै आकर्षक भएकाले केही वर्षअघि मात्रै पीपलाडीको थारू गाउँमा छायाङ्कन भएको नेपाली कथानक चलचित्र हिम्मतवालीको केही नृत्यमा नायिका र कोरस डान्स गर्नेहरुले लेहङ्गा लगाएका र यसले डगौरा तथा चौधरी समुदायका महिलाको पहिरन भनेर चिनाउन मद्दत पुगेको गहनुले उल्लेख गर्नुभयो ।

कुनै पनि सांस्कृतिक समारोह तथा विवाहलगायत कार्यक्रममा थारू युवतीले परम्परागत पहिरन र गहना लगाउने गर्दैआएका छन् । जनचेतनाको बढदो प्रभावका कारण संस्कृतिसँग सम्बन्धित कुराहरु जोगिएको थारू अगुवाको भनाइ थियो । “युवतीले निःसङ्कोच सार्वजनिक समारोहमा परम्परागत पहिरन र गहना लगाउने गरेका छन,” टिकुराम दहितले भन्नुभयो, “यो गर्वको कुरा हो, पछिल्लो पुस्ता पनि परम्परागत पहिरन जोगाउन अगाडि सरेका छ ।”

पहिरनसँगै माघी मिलन कार्यक्रमहरुमा थारू समुदायको परम्परागत मौलिक परिकारका रुपमा रहेका अन्तिको चामलको पीठोबाट बनाइएको ढिक्री, गुलियार जाँड, महुवाँको फुलबाट तयार गरिएको मदिरा, मुसाको चटनी, घोँघी, सुगुँरको सिकारलगायत बनाउने र पाहुनालाई चाडपर्वका बेला खुवाउने गरिएको छ । औद्योगिक व्यापार, मेला, पर्यटनसम्बन्धी मेला र हाटबजार लाग्ने क्षेत्रमा थारू समुदायका मौलिक परिकार बिक्रीका लागि राखिएको हुन्छ ।

थारू परिकारको व्यवसायीकरणले आम्दानीको स्रोत वृृद्धि हुनु सकारात्मक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का कञ्चनपुर अध्यक्ष डिवी कुश्मीले बताउनुभयो । सांस्कृतिक समारोहमा परम्परागत पहिरन, गहना, गीत, नृत्य, परिकार जोगिनाका साथै समाजलाई समृद्धिको बाटोमा अगाडि बढाउन र अधिकारका लागि सचेत पार्न गीत र नृत्यमार्फत कार्यक्रमहरु पनि हुने गरेका छन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीलाई सुनाउन पनि थारू समुदायका स्थानीय कलाकारले गीतमार्फत अधिकारका कुराहरु व्यक्त गर्न पछि पर्दैनन् । पीपलाडीमा मङ्गलवार आयोजना भएको माघी मिलन कार्यक्रममा टोलको नेतृत्व गर्दै मघौटा नृत्य लिएर पुग्नुभएकी राजकुमारी चौधरीले किसानले अन्न, तरकारीलगायतको मूल्य नपाएको र अधिकारका लागि आफैँ अगाडि बढ्नुपर्ने सहभागीहरुलाई गीतमार्फत सुनाउनुभयो । थारू समुदायका सीपमूलक कामलाई व्यावसायिकीकरण गराउन आधुनिक तालिमको व्यवस्था गर्न लागिएको उल्लेख गर्दै उहाँले मातृभाषामै थारू समुदायका बालबालिकालाई आधारभूत तहको ज्ञान दिलाउनका लागि पाठयक्रम तयार गर्न थारू शिक्षक र बुद्धिजीवी अगाडि सर्नुपर्नेमा जोड दिनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।