आरन चलाएर जीविकोपार्जन

घोराही (दाङ), ४ माघ : घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । सन्ताउन्न वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थाल्नु भएको हो । उहाँले घोराही–१४ मा आरन पेसा गर्दै आउनुभएको छ ।

जीतबहादुरले भन्नुभयो, “यो बाबुबाजेको पेसा भएकाले अन्य कामको विकल्प देखिएन् । आफूले जानेको सीप तथा पुख्र्यौली पेसा पनि भएकाले बाध्य भएर यसलाई नै निरन्तरता दिएका छौँ ।” पहिले उमेरमा अरु पेसा गर्न आर्थिक समस्या भएको भन्दै अहिले अरु काम गर्न आफूसँग सीप नभएको उहाँको भनाइ थियो ।

फलामबाट बन्ने विभिन्न किसिमका खुकुरी, हँसिया, फरुवा, कोदालोलगायत सामग्री निर्माण गरेर आउने ज्यालाले आफूहरुसहित पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको टमटा दम्पतीले जानकारी दिनुभयो । यो पेसामा श्रीमती सुन्तलीले सधैँ साथ दिएको उहाँले बताउनुभयो ।

तातेका फलामबाट कुटोकोदालो तथा हँसिया हतौडासम्म उहाँले बनाउनुहुन्छ भने श्रीमतीले आगो फुक्ने तथा आवश्यक सामग्रीको व्यवस्था गरेर सहयोग गर्दै आउनुभएको छ । दुवै मिलेर काम गर्दा व्यवसायमा सहज भएको सुन्तलीले बताउनुभयो । आम्दानी प्रशस्त भइरहेकाले पनि उहाँहरु यो पेसाबाट सन्तुष्ट देखिनुहुन्छ । कहिलेकाहीँ ग्राहक टमटाको व्यवसाय खोज्दै आउँदा गर्व लाग्ने गरेको सुनाउनुभयो ।

जीतबहादुरले घरेलु तथा साना उद्योगको आयोजनामा केही वर्ष पहिले आधुनिक प्रविधिका सामग्री निर्माण गर्ने तालिम लिएको बताउनुभयो । यसलाई निरन्तरता दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

टमटा दम्पतीले आरन पेसाबाट दैनिक रू दुई हजार पाँच सयसम्म आम्दानी गर्दै आएका जानकारी दिनुभयो । पुराना सामग्री मर्मत गर्ने र केही नयाँ बिक्री गर्दा प्रशस्त आम्दानी हुने गरेको जीतबहादुरको भनाइ थियो ।

टमटा दम्पतीले जस्तै नेपालगञ्ज स्थायी घर भएका मुसीर जसगरले पनि घोराही–१४ मा आरन पेसा गर्दै आउनुभएको छ । तेइस वर्षीय मुसीरले विगत आठ वर्षदेखि फलामबाट बन्ने विभिन्न सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्दै आउनुभएको छ । उहाँले हँसिया, खुकुरी, खुर्पा सबैभन्दा बढी बिक्री हुने गरेको बताउनुभयो ।

मुसीरलाई उहाँको भाइले सहयोग गर्दै आउनुभएको छ । यही पेसाबाट वार्षिक रू ३०-४० हजारसम्म बचत गर्न सफल भएको उहाँले बताउनुभयो । “आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु । उत्पादित सामग्री बिक्री भइरहेको छ”, जसगरले भन्नुभयो, “सरकारीस्तरबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पु¥याउन तालिमको आवश्यकता छ । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।” पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण हुन नसकेको उहाँको अनुभव छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।