खोटाङमा सवारीसाधनको घट्यो भाडादर

खोटाङ, ९ माघ : जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिनुभएको छ । “जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा रु तीन सय १० सम्म घटाइएको छ”, उहाँले भन्नुभयो, “भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।”

बसमा दिक्तेल–खुर्कोट रु नौ सय ५०, दिक्तेल–काठमाडौँ रु एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको रु एक हजार, दिक्तेल–इटहरीको रु एक हजार तीन सय, दिक्तेल–धरान रु एक हजार तीन सय ५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी रु एक हजार, दिक्तेल–मिर्चैया रु एक हजार एक सय, दिक्तेल–लहान रु एक हजार दुई सय, दिक्तेल–इटहरी रु एक हजार चार सय ५०, दिक्तेल–धरान रु एक हजार पाँच सय, दिक्तेल–विराटनगर रु एक हजार पाँच सय ५० र दिक्तेल–काँकडभिट्टा रु एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा रु पाँच सय ५०, दिक्तेल–भोजपुर रु आठ सय, दिक्तेल–मानेभन्ज्याङ रु पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ रु छ सय, दिक्तेल–खोटाङबजार रु सात सय भाडादर तोकिएको छ ।

यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । “व्यवसायसँगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सबै सवारीको भाडादर घटाइएको छ । नयाँ भाडादरअनुसार भाडा लिन र दिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “यातायात व्यवसायीले तोकिएको भाडादर लागू नगरेको खण्डमा हामीलाई खबर गर्नुहोस्, तुरुन्त कारबाही गर्छौँ ।”

लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको रु एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको रु एक सय, हुर्लुङ रु एक सय ५०, नुनथला रु दुई सय, महुरे रु दुई सय ५०, अर्खौले रु तीन सय र हलेसी रु तीन सय ५० भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा रु तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा रु ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको रु दुई सय ५० र बिरामीसहित तीनजना भएमा रु तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ ।

यसैबीच दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ ‘इन्ट्री’ गरेरमात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिकरूपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । सडकको दायाँबायाँ यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा बस, जीप, अटो र भ्यानगरी करिब तीन सय ५० हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।

८७ किसान सम्मानित

ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा किसान सम्मानित भएका छन् । जि–फाउण्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुईदिने कृषि मेला प्रदर्शनी कार्यक्रम समापनको अवसरमा सोमबार विभिन्न २७ विधामा उत्कृष्ट भएका ८७ किसानलाई सम्मान गरिएको हो ।

सम्मानित हुने किसानलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, उपप्रमुख राजेशकुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा र प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले संयुक्तरूपमा प्रमाणपत्रसहित कृषि औजार तथा कृषि सामग्री प्रदान गर्नुभएको छ । कृषि मेला प्रदर्शनी कार्यक्रममा विभिन्न चार विधामा प्रथम स्थान हासिल गर्नुहुने वडा नं ७ माक्पाकी सर्वोत्कृष्ट महिला किसान डिल्लीमाया राईलाई नगद रु तीन हजारसहित पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले जानकारी दिनुभएको छ ।

कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने किसानलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय, दुई हजार र आठ सय बराबरको कृषि सामग्री प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट किसानलाई कोदालो, झम्पल, ड्रम, पाइप, सिकेचर, स्प्रिङकल, क्यारेटलगायतका कृषि सामग्री प्रदान गरिएको हो ।

‘ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित कृषि मेला प्रदर्शनी कार्यक्रममा एक सय ४१ किसानले विभिन्न विधाका स्टल राखेका थिए । ऐसेलुखर्क बजारमा आयोजित मेलामा नगदेबाली, फलफूल तथा तरकारीबाली प्रदर्शनीमा राखिएको थियो । कृषि क्षेत्रको विकास तथा प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले हरेक वर्ष कृषि मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । कृषि मेला प्रदर्शनीले किसानलाई हौसला प्रदान गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।