शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने

दोधारा चाँदनी (कञ्चनपुर), १४ माघ : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ ।

एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताउनुभयो । “शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।” उहाँले भन्नुभयो, “हात्तीलाई परिचलान गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।” उहाँले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेका बताउनुभयो ।

तालिमको सुरुआतका बेला वयस्क हात्तीको सहारामा जङ्गलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्ररूपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ । शेषचन्द्रलाई नियन्त्रितरूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका शिवदत्त चौधरीले जानकारी दिनुभयो ।

“हात्तीलाई तालिम दिनुभन्दाअघि एउटा खम्बा तयार पारिन्छ, त्यसलाई खमारा भनिन्छ”, चौधरीले भन्नुभयो, “खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाइ र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । हात्तीलाई तालिम जसदिने हो, उसैले पूजा गर्नुपर्छ ।” चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ ।

“हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ”, उहाँले भन्नुभयो, “दिनमा जङ्गल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ ।” हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । “जबसम्म बहकियाको भनेको टेर्दर्नै तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिइँदैन”, चौधरीले भन्नुभयो, “कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।”

चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै साहारामा हात्तीमाथि बसेर पनि तालिम दिइन्छ । “दुई हात्तीको बीचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ वयस्क हात्तीलाई हिँडाइन्छ”, उहाँले भन्नुभयो, “उकालो–ओरालो र पानी सबै ठाउँमा हिँड्न सक्नेगरी तालिम दिइन्छ, तालिमका बेलामा निडर बनाउन आगो देखाउने, गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ ।” हात्तीलाई दुईदेखि तीन वर्ष छ महिना भित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुनसक्छ । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठमात्रै छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।