गाउँका महिलालाई जोगी सर भन्छन्,‘मेरो आमा बनिदिनु’

विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ पोखरियामा छ मुसहर बस्ती । अतिविपन्न परिवारले बसोबास गर्ने बस्तीका पुरुष हरेक दिन मजदुरी गर्छन् । महिला पनि घरधन्दा पछि बेला बेला काम गर्न जान्छन् ।

बस्तीका बालबालिका नजिकै रहेको दीनाभद्री आधारभूत विद्यालयमा पढ्छन् । मुसहर बस्तीका बालबालिका पढ्ने स्कुलमा केही दिनअघि मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डल (जोगी सर) पुग्दा गाउँका महिला भेला भए । सांसद आएपछि पुगेका महिलालाई उनले आफ्नो आमा जस्तै बनिदिन आग्रह गरे । पोखरियामा मात्र होइन्, आफ्नो क्षेत्रका सबै महिलालाई उनी आफ्नो आमा जस्तै बनिदिन आग्रह गर्छन् ।

‘मेरी आमाले मलाई भुजा बेचेर पढाउनु भयो, आमाले पढाएकै कारण आज म यो स्थानमा छु,’मुसहर महिलासँग उनले भने,‘ तपाईँहरू पनि मेरो आमाजस्तै बनिदिनु, केही न केही गरेर आफ्ना छोराछोरी पढाउनु, पढे भने राम्रो रोजगारी पाउँछन्, नपढे तपाईँहरूले जस्तै मजदुरी गर्नुपर्छ ।’

योगेन्द्र मण्डललाई उनकी आमा भगनीदेवी मण्डलले भुजा बेचेर पढाएकी थिइन् । धनपालथान गाउँपालिका २ अमाहीवरियातीबाट उनकी आमा हरेक हप्ता भुजा बेच्न विराटनगर आउथिन् । भुजा बेच्दा हप्तामा ५० रुपैयाँ नाफा हुन्थ्यो । त्यहीँ पैसा जम्मा गरेर छोराको पढाई खर्च जुटाउथिन् ।

भुजा बेचेर योगेन्द्रलाई काठमाडौँसम्म पठाएर स्नातक पढाइन् । पढाई सकेर फर्किएपछि योगेन्द्रले जीवन विकास समाज स्थापना गरे । जीवन विकास समाजले अहिले जीवन विकास लघुवित्त वित्तीय संस्था सञ्चालन गर्छ । सामाजिक अभियान पनि सञ्चालन गर्छ । संस्थाबाट गरेको कामका कारण स्वतन्त्र उम्मेदवारी दिदा पनि उनले चुनाव जितेका थिए । सांसद निर्वाचित भएपछि आफ्नो क्षेत्रमा जादा उनले हरेक महिलालाई आफ्नी आमाको उदाहरण दिन्छन्, र सन्तानका लागि भगिनीदेवी जस्तै बनिदिन आग्रह गर्छन् । व्यवसाय सुरुवात गर्नका लागि सहयोग गर्ने वचन पनि दिन्छन् ।

‘अहिले केही न केही गर्नुहोस्, परेवा पाल्नुहुन्छ भने पनि म बिउ पूँजी दिन्छु, पाँच हजारले परेवा व्यवसाय सुरु गर्दा हुन्छ, आम्दानी राम्रो दिन्छ, घाटा छैन,’ पोखरीयाका मुसहर महिलालाई मण्डलले भने,‘एकै पटक धेरै आँटेर केही हुँदैन, थोरै पुँजीले कामको सुरुवात गर्नुहोस्,विस्तारै प्रगति हुन्छ ।’

गाउँका महिलालाई उनी परेवा, कुखुरा, बाख्रा पालन गर्न र तरकारी खेती गर्नका लागि प्रोत्साहन गर्छन् । ‘परेवा,कुखुरा र खसीका लागि बजारको समस्या छैन, जहिले पनि बिक्री हुन्छ,’ उनी भन्छन्,‘उत्पादन गर्नु, बजार पाइएन भने मलाई भन्नु म सहयोग गर्छु ।’

२२ दिनमा परेवाले बच्चा उत्पादन गर्ने भएका कारण परेवा पालनले परिवारको खर्च धान्ने उनको भनाई छ । ‘पाँच हजार बिउ पूँजीले परेवा पाल्न थाल्नु भयो भने आम्दानी राम्रो हुन्छ, घर खर्च गरेर पनि थोरै बचत हुन्छ,’ उनले भने,‘घरमै प्रयोगका लागि पनि हुन्छ, पाहुना आउँदा बजारमा खर्च गर्नु परेन भने आफ्नै बचत हुन्छ ।’

सांसदको रुपमा पाउने सुविधा मण्डलले विपन्न परिवारलाई उद्यमसँग जोड्नका लागि खर्च गरिरहेका छन् । ‘केही नगरी बस्नु भन्दा केही न केही आम्दानी हुने काम गरेको राम्रो हो नि,’ उनले भने,‘ सरकारबाट पाउने सुविधा मेरा लागि खर्च गर्दिनँ, जसले जिताए उनीहरूकै लागि खर्च गर्छु ।’

पहिलो वर्ष मण्डलले राज्यले दिएको सुविधा आफ्ना क्षेत्रका विपन्न नागरिकको उपचार र संस्कृति जगेर्णामा खर्च गरे । पछिल्लो समय उनले गाउँका महिलालाई उद्यमी बनाउन बिउ पूँजी वितरण गरिरहेका छन् । अबको चार वर्ष सांसदको सुविधा यसरी नै खर्च गर्ने उनले बताए । ‘जनताले जिताएका हुन्,उनीहरूकै लागि पैसा खर्च गर्छु,’ उनले भने,‘ परेवा पाल्न, कुखुरा र बाख्रा पाल्न बिउ पूँजी दिन्छु ।’ जनताले पालेका पशुपन्छीको रेखदेखका लागि गाउँपालिकाका प्राविधिकलाई खटाउने उनको योजना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।