संरक्षणको पर्खाइमा ‘पराशर पार्क’

सानेबहादुर नेपाली / तनहुँ १७ माघ : भाइरल पर्यटकीय क्षेत्र मानहुँकोटको फेदी र सेती तथा मादीको सङ्गमस्थलमा निर्माण गरिएको पराशर पार्कको संरक्षण हुन सकेको छैन । सदरमुकाम दमौली नजिकै व्यासऋषिको तपोभूमि व्यास गुफा छ । उक्त गुफाको ठीक अगाडि भागमा पराशर आश्रम अवस्थित छन् । दायाँ र बाँया सेती तथा मादी नदी बग्छन् ।

धार्मिक र पौराणिक दृष्टिकोणले यो क्षेत्र धार्मिक पर्यटकीय स्थलका रुपमा पनि उत्तिकै परिचित रहेको पाइन्छ । सो स्थानमा घुम्न स्वदेश र भारतका विभिन्न स्थानबाट पर्यटक आउने गर्दछन् । व्यास गुफा, पराशर आश्रम र पार्कलाई जोड्न मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न नेपाल सरकारको आर्थिक सहयोगमा व्यास नगरपालिका–५ बेनीपाटनस्थित सेती र मादी नदीको सङ्गमस्थलमा पराशर पार्क निर्माण गरिएको छ । चारवेद र १८ पुराणका रचयिता वेदव्यासको तपोभूमिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण कार्य अघि बढाइएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा अन्तिम निर्माण कार्य सम्पन्न गरे पनि सञ्चालनमा ल्याउन नसक्दा विगत दुई वर्षदेखि पराशर पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ ।

विसं २०७८ मा सेती र मादी नदीमा आएको बाढीले निर्माण गरिएका केही संरचना बगाएर पूर्ण क्षति बनाएको छ । बचेका केही संरचना पनि भत्किन थालिसकेका छन् । तनहुँ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत बचेका संरचना जोगाउन सेती र मादी किनारमा पर्खाल निर्माण गरेका कारण रहेका केही संरचनाको संरक्षणमा सहयोग पुगेको छ ।

पार्क निर्माणपश्चात् शौचलायका लागि पानी आवश्यक पर्ने भएपछि ट्याङ्की निर्माणका लागि विनियोजित रु ५० लाखको लागतमा ट्याङकी निर्माण गरिएको थियो । विसं २०७५ साउन १६ गतेदेखि निर्माण सुरु गरी विसं २०७६ माघ १६ गते नै पार्क निर्माण कार्य सम्पन्न गरे पनि उक्त समयदेखि पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ ।

उक्त पार्कमा माछाको आकारमा पानी पोखरी, क्यारी वल, वनभोज स्थल, बास्केटबल कोर्ट, एमपी थ्रेटर, पार्किङस्थल निर्माण गरिएको छ । व्यास गुफा र पराशर क्षेत्रलाई जोड्दै धार्मिकस्थलका रुपमा प्रवद्र्धन गर्नमा थप सहयोग पुग्ने स्थानीय पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ ।

निर्माण गरिएका संरचना संरक्षण गर्न जति सक्दो चाँडो स्थानीय तह मातहत ल्याएर सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले जति सक्दो चाँडो व्यास नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने देखिएको छ ।

सो संरचना तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग गोरखाले निर्माणको जिम्मा पाए पनि अहिले सङ्घीय आयोजना कार्यन्वयन एकाइ कास्की मातहत रहेको छ । आयोजनाको कूल लागत रु तीन करोड ५३ लाख ७१ हजार पाँच सय ७६ रहेकामा भ्याटबाहेक कबोल अङ्क रु दुई करोड ७९ लाख ९८ हजार चार सय तीन लागत रहेको थियो ।

उक्त पार्कको न्यू ड्रैगन÷एएनजी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको सङ्घीय आयोजना कार्यन्वयन एकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले जानकारी दिनुभयो । सङ्घीय आयोजना कार्यान्वयन एकाइले सङ्घीय सरकारबाट प्राप्त बजेटअनुरुप निर्माण कार्य सम्पन्न गरेको उहाँ बताउनुहुन्छ ।

“पार्क उपयोगमा ल्याउनका लागि स्थानीय तहलाई पार्क हस्तान्तरण गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “व्यास नगरपालिकाले सञ्चालनका साथै संरक्षण गर्न पनि उत्तिकै चासो देखाएको छ, प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो, निर्माण गरिएका संरचना सुरक्षित हुने किसिमले सञ्चालनमा ल्याउन नगरपालिकालाई सुम्पिन लागेका छौँ, अब छिट्टै हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ ।”

पार्क सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा पर्यटकको आवागमनमा वृद्वि हुने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको बजेटमा सङ्घीय आयोजना कार्यान्वयन एकाइले पार्क निर्माण गरे पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यमा ढिलाइ हुँदा निर्माण गरिएका संरचना अलपत्र बन्दै गएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

पार्कलाई सुन्दर र सफा देखाउन लगाइएको टायल उप्किने तथा भाँचिने भइसकेको छ । पार्कमा बिच्छ्याइएका टायल फुट्न थालेका र यसको मर्मतसम्भार गरेर नगरपालिकाले संरक्षण तथा सञ्चालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।

प्रयोगमा नआउँदै र यसको उद्घाटन नहुँदै जीर्ण देखिन थालेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय गन्तव्य विकासका लागि पार्क निर्माण गरिनु राम्रो कार्य भए पनि सरकारको लगानीको संरक्षण नहुँदा यति ठुलो लगानी बालुवामा पानी हालेजस्तो बनेको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।