छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

भरतपुर, १९ माघ : चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ ।

शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन् । छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताउनुभयो ।

“बाबु आमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्रावासमा राखेर अध्ययन गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “नजिकै रहेको विद्यालयमा उनीहरुले राम्रोसँग पढ्न पाएका छन् ।” हाल अध्ययन गरिरहेको विद्यालयबाट आधारभूत तह पार गरिसकेपछि माध्यमिक तहमा पढ्न कहाँ जाने भन्ने अन्योल रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय आधारभूत विद्यालय वर्ल्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ । “अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ”, प्रजाले भन्नुभयो, “यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ ।”

विद्यालयका प्राचार्य कमला भण्डारीले छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेका बताउनुभयो । उहाँले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताउनुभयो । छात्रावासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन् ।

कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्रावासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउनुहुन्छ । “बाबा बित्नुभयो, आमाले दोस्रो विवाह गर्नुभयो, ठूलोबा, आमासँग बसिरहेको थिएँ, मलाई पढाउन सक्ने सम्भावना थिएन”, उहाँले भन्नुभयो, “कक्षा ८ सम्म यहीँ पढ्ने हो, त्यसपछि सर म्याडमले जहाँ पठाउनुहुन्छ त्यहीँ गएर पढ्ने हो ।”

आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीनजस्तै बन्नुभएकी सुनिता चेपाङ पनि मामाघरमा हुनुहुन्थ्यो । कक्षा ६ मा पढ्ने उहाँका भाइहरु पनि यही छात्रावासमा बसेर पढिरहेका छन् । आफ्नो जन्मदिने बाआमाबाट टाढा रहनु परे पनि उहाँले आधारभूत शिक्षाका लागि अभिभावक पाउनुभएको छ । छात्रावासमै घरपरिवारजस्तो वातावरण भएको भन्दै उहाँले ढुक्क भएर पढ्न पाएको बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि यो छात्रावास सञ्चालनमा ल्याएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरूको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी सङ्कलन गरेर छात्रावासको सुरुआत गरिएको हो । अहिले गाउँपालिकाले वार्षिक रु पाँच लाख बजेट छुट्याइदिएको छ ।

“गाउँपालिकाले दिएको बजेटबाट खाना बनाउने आमालाई मासिक तलब र छात्रावासको भाडा तिर्ने काममा खर्च गर्न पाएको छ”, उहाँले भन्नुभयो, “बाँकी खानपान र लत्ताकपडाका लागि दाताकै भर पर्नुपरेको छ ।” माध्यमिक तहको अध्ययन गराउनका लागि समस्या रहेको उहाँ बताउनुहुन्छ ।

“कक्षा ८ पढिसकेपछि कहाँ लगेर पढाउने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयमा अध्ययनरत अन्य बालबालिका जाने काउले हो, तर छात्रावासका बालबालिकालाई कसरी पढाउने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।” गाउँपालिकासँग पनि यस विषयमा छलफल चलाइएको उहाँले बताउनुभयो ।

वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङकै प्रयासमा यहाँ छात्रावास सञ्चालनमा आएको हो । कक्षा ८ सम्मका बालबालिकाका लागि गाउँपालिकाले लगानी गरिदिएको उहाँले बताउनुभयो । अभिभावक नभएका टुहुरा बालबालिकालाई आवासीयरुपमा अध्ययन गराउने उद्देश्यका साथ छात्रावास सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

“यहाँ खान बस्ने व्यवस्थासँगै बालबालिकालाई अतिरिक्त कक्षाको पनि व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै विपन्न परिवारका बालबालिकालाई छात्रावासमा राखेर पढाएका छौँ ।” उहाँले सुरुमा जनप्रतिनिधि, शिक्षक र अभिभावकले मुठी दान गरेर छात्रावास सञ्चालन गरेको भन्दै अहिले गाउँपालिकाले वडामार्फत नियमित बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको बताउनुभयो ।

माध्यमिक तहभन्दामाथि एकै ठाउँमा विद्यालय नहुँदा अर्को विद्यालयमा छात्रावास चलाउन सक्ने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो, “त्यसकारण यस विषयमा स्थानीय अभिभावक, विद्यालय परिवार र जनप्रतिनिधि तथा सामाजिक स्ङ्घसंस्थासँग पनि कुराकानी भइरहेको छ ।”

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले छात्रावास सञ्चालनपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको बताउनुभयो । उहाँले गाउँपालिकाले छात्रावास भवन र अन्य भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले छात्रावासलाई सुरक्षित र व्यवस्थित बनाउन पहल गरिने बताउनुभयो । चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन अन्य ठाउँमा पनि आवासीय सुविधासहितको विद्यालयको परिकल्पना गरिएको उहाँले बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।