‘फ्री भिसा फ्री टिकट’ नीति अझै कार्यान्वयन हुन सकेन

खोटाङ, १९ माघ : नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन सकेको छैन । खोटाङमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले सरकारले विसं २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका लागि फ्री भिसा फ्री टिकटको नीति लिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताएका छन् ।

सरकारले मलेसियालगायत खाडीमुलुकका लागि रु दश हजार लागत लाग्ने नीति कार्यान्वयनको घोषणा गरेपनि मेनपावर र एजेन्टलाई रु तीन लाख ५० हजारसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको वक्ताले बताएका हुन् ।

विदेश जानका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दुई हजार नौ सय १६ मध्ये दुई सय ९० जनासँग प्रतिक्रिया लिँदा दुई जनाले मात्रै ‘फ्री भिसा फ्री टिकट’को सुविधा लिएको पाइएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोषकुमार राईले जानकारी दिनुभयो । “चालु आवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मात्रै दुई हजार नौ सय १६ युवाले वैदेशिक रोजगारसम्बन्धी सेवा लिएका छन्”, उहाँले भन्नुभयो, “नमूनाका रुपमा दश प्रतिशतसँग प्रतिक्रिया लिँदा ३२ जनाले तालिम लिएर विदेश गएका पाइयो । तीमध्ये दुई जना मात्र फ्री भिसा फ्री टिकटमा विदेश गएका छन् ।”

संयोजक राईले वैदेशिक रोजगारीमा अधिकांश युवा मलेसियालगायत खाडी मुलुक गएका छन् । उनीहरुले मेनपावर कम्पनी वा एजेन्टलाई रु तीन लाख ५० हजारसम्म बुझाएका पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया लिएका दुई सय ९० मध्ये तालिम तथा सीप सिकेर जानेमा ३२ जना, विदेश नजाने निर्णयमा पुगेका ९०, नेपालमै स्वरोजगारको बाटो अपनाएका २०, विदेश जाने तयारीमा रहेका ८८, विदेश जान असफल भएका सात र विदेश जाने वा नजाने भन्ने निर्णय लिन नसकेका ५३ जना रहेका राईले जानकारी दिनुभयो ।

सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको सुविधाअनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि मेनपावरलाई रु दश हजार तिरे पुग्छ । अहिले पनि मेनपावर र एजेन्टले वैदेशिक रोजगारीमा जाने युवासँग लाखौँ रकम लिएर खाडीमुलुक पठाउने गरेका अन्तक्र्रिया कार्यक्रमका सहभागीले बताएका छन् ।

मेनपावर सञ्चालक वा एजेन्टले बढी पैसा लिने गरेका भन्दै उनीहरुले रु दश हजार लिएको रसिद मात्र दिने गरेका हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिनुभयो । “मेनपावर कम्पनीले बढी पैसा लिएको पुष्टि हुने प्रमाण नजुट्ने किसिमले रकम असुल्ने गरेका पाइएको छ । विदेश जान बाध्य युवाले ऋण लिएर मेनपावरलाई बढी पैसा दिए पनि कम लागतको बिल लिने गरेका छन्”, उहाँले भन्नुभयो, “विदेश जाने युवाले अझै पनि एजेन्टकै विश्वास गर्ने गरेको पाइएको छ । यसमा उनीहरु आफैँ सचेत हुनुपर्छ । युवा आफैँ सचेत भए ठगीमा परिदैन ।”

विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगीबापतको रकम फिर्ता गराउन समस्या हुने गरेको अन्तक्र्रिया कार्यक्रममा संयोजक राईले बताउनुभयो । वैदेशिक रोजगारमा उत्पादनमूलक क्षेत्रमा विप्रेषणको लगानी नहुनु, रोजगारीमा जाने युवा प्रायः जिल्ला बाहिर रहनुलगायत चुनौती देखिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी–२ की सानी दाहालले आफ्नो छोरा र भान्जालाई माल्टा पठाइदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले रु २२ लाख ठगेको बताउनुभयो । “दुई वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएका थियौँ । अहिले उनी सम्पर्कविहीन छन् । छोरा अहिले कतारमा छ । भान्जा अहिले नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन्”, उहाँले भन्नुभयो, “हामीले शेर्पालाई आइएमइमार्फत र नगद गरी रु ११÷११ लाख बुझाएका थियौँ । पहिले शेर्पाका बुबाले उक्त रकम फिर्ता दिने भनेकामा अहिले उनले पनि वास्ता गर्दैन ।”

जापान पठाइदिने भन्दै निज शेर्पाले आफूसँग रु चार लाख ठगेको दिक्तेलका सरोज सुन्दासले जानकारी दिनुभयो । जापान नपठाएपछि पटकपटक दबाब दिएर सबै पैसा फिर्ता लिइएको उहाँले बताउनुभयो । “ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेका छन् । परिवारसँग बुझ्दा कहिले फ्रान्स, कहिले क्रोएसियामा रहेको बताउने गरेका छन्”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारका सन्दर्भमा गरिएको सुरक्षित आप्रवासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा विदेश गएका वा जान लागेका अधिकांश युवा, आफन्त वा चिनेजानेका व्यक्तिबाट ठगिने गरेको पाइएको सामी परियोजनाले जनाएको छ । पछिल्लो तीन वर्षको अवघिमा खोटाङका ४६ जना युवा ठगिएको पाइएको संयोजक राईले जानकारी दिनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।