चन्दन भराटेश्वरका सम्पदाः मल्लकालीन देवस्थल भएको प्रमाण

कीर्तिपुर (काठमाडौँ), १९ माघ : चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ । पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो ।

“अध्ययनका क्रममा नेपाल संवत् ८०९ (तीन सय ३५ वर्षअघि) को एउटा र नेपाल संवत् ८३२ (तीन सय १२ वर्षअघि)का शिलालेख भेटिएका छन् । त्यसले यहाँ थप पुरातात्विक सम्पदा हुनसक्ने सङ्केत गरेको छ”, रासससँग कुरा गर्दे श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार नेसं ८०९ चैत्र शुक्ल मिति उल्लेखित शिलालेखमा ‘श्री ३ योगनरेन्द्र मल्ल’ लेखिनुका साथै ‘नास द्योछें’ उल्लेख छ ।

“यसको अर्थ यहाँ नृत्यका देवता राखिने घर (नास द्यो छेँ) थियो भन्ने हो”, श्रेष्ठले भन्नुभयो । कालक्रममा नास द्यो छेँ भत्किएर पुरिएको र शिलालेख चाहीँ बाहिर रहेको हुनसक्ने उहाँको अनुमान छ । यसले सो क्षेत्रमा ठूला सम्पदा रहेको सङ्केत गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी नेसं ८३२ को शिला लेखमा ‘काशीनाथ भारो (सम्भवतः थर) र शिव भारोले गणेशको मूर्ति स्थापना गरेको’ उल्लेख छ । त्यतिबेला कीर्तिपुरदेखि थानकोटसम्मको क्षेत्र काठमाडौँ उपत्यकाका तीन राज्यमध्ये पाटनको अधिनस्थ रहेकाले योगनरेन्द्र मल्लको नाम उल्लेख भएको पनि पुरातत्वविद् श्रेष्ठले बताउनुभयो ।

सोही स्थानमा तीन वर्षअघि चन्दन भराटेश्वर मन्दिर परिसरको दक्षिण पूर्वी कुनामा रहेको पार्वती कुण्ड सफा गर्दा एउटा ठूलो ढुुङ्गेधारा भेटिएको थियो । त्यसपछि जनप्रतिनिधिले पुरातत्वविद्लाई थप अध्ययन गरिदिन अनुरोध गरेका थिए ।

“मकर आकृतिको त्यो धारा प्राचीन हो । तर कति पुरानो (लिच्छवी वा मल्लकालको) हुन् भन्ने कुराको निक्र्योलका लागि थप अध्ययन गर्नुपर्छ”, पुरातत्वविद् श्रेष्ठले भन्नुभयो । यसका लागि फागुनको दोस्रो सातादेखि उक्त क्षेत्रमा थप उत्खनन गर्नुपर्ने वा नपर्नेबारे अध्ययन गरिने उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष सञ्जय सिग्देलका अनुसार जनप्रतिनिधिले लामो समयअघिदेखि चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्नुपर्ने माग राख्दै आएका थिए । मकर आकृतिको धाराको आकार प्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरातत्वविद्ले लिच्छविकालीन हुनसक्ने अनुमान गरेका उहाँको भनाइ थियो ।

पछिल्लो समय नगरपालिकाले चन्दन भराटेश्वर मन्दिर परिसरमा गुठी, क्लब र ज्येष्ठ नागरिक भवन बनाउने गरी गुरु योजना मनाइरहेको छ । त्यसअघि नै त्यहाँ उत्खनन गरेर प्राप्त सम्पदाको व्यवस्थापन गर्ने र आवश्यकता परे गुरु योजनासमेत संशोधन गर्नुपर्ने अवस्था आउने चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको भनाइ छ ।

वडाध्यक्ष सिग्देलका अनुसार उक्त मन्दिर परिसरसहित वडा नं ६ मा भेटिएका अन्य सम्पदाको संरक्षणका लागि पनि पुरातत्व विभागसँग समन्वय भइरहेको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।