घुम्ती गोठ रित्तिँदै

म्याग्दी (बेनी), २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उहाँको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ ।

गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उहाँको नियमित दैनिकी हो । जीवनको अधिकाश समय गोठमा बिताउनुभएका उहाँको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उहाँले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आउनुभएको छ । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ ।

घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राख्नुभएका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । “म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ”, उहाँले भन्नुभयो ।

रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उहाँको भनाइ छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गर्नुभएका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गर्नुभयो ।

परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उहाँको भनाइ थियो । करिब १५ वर्षसम्म भेडाबाख्रापालन गर्नुभएका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आउनुभएको छ । बीस–पच्चीसवटासम्म भैँसी पाल्ने गर्नुभएका उहाँले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिनुभयो ।

गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उहाँले बताउनुभयो । बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाउनुभएको छ । “मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु”, उहाँले भन्नुभयो ।

घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उहाँले बताउनुभयो । “एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने”, उहाँले दुखेसो पोख्नुभयो ।

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताउनुभयो । उहाँले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।