संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्न एमालेको माग

काठमाडौँ, २४ माघ : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

संसद्को गत अधिवेशनमा एकमात्र कानुन बनेको र संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको हुँदा प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै उहाँले चालु अधिवेशनमा सभामुखबाट ल्याइएको कार्यतालिकाको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षका हैसियतले एमालेले जनताका विकास र निर्माणका सवाललाई घनिभूतरुपमा उठाउने बताउनुभयो । उहाँले एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी (पुष्पलाल) सङ्कल्प यात्राका क्रममा प्राप्त जनताका अपेक्षा र चाहनालाई समेटेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको ध्यानाकर्षण कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनादेखि गाउँगाउँका खानेपानी, विद्यालय भवन र स्थानीय तहका आधारभूत अस्पताल निर्माणका काम गर्नुपर्ने भन्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालनको माग गर्नुभयो । उहाँले रुसी सेनामा कामका लागि गएका नेपालीहरु उद्धार गरी नेपाल ल्याउन र इजरायलमा सम्पर्कबिहीन भएका विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशभित्र रोजगारी दिन पनि नसक्ने र कामका लागि दक्षिण कोरिया जान खोजेका युवाले गोली लागेर ज्यान गुमाउनुपर्ने अवस्था दुखद् भएको बताउनुभयो ।

बैंकहरुले वर्षमा चार पटकसम्म ब्याजदर बढाएर उद्यमी र ऋणीलाई डुबाएको र सहकारी सञ्चालकले बचतकर्तालाई रुँदै सडकमा आउन बाध्य पार्ने स्थिति भएको उल्लेख गर्दै उहाँले यसमा सरकारले यस्ता मुद्दामा जति सुकै बलिया व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले एनसेनको शेयर खरिद प्रक्रियामाथिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।