धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

धरान (सुनसरी), २४ माघ : छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।

उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पु¥याउन, स्थानीय उत्पादनलाई बजार पु¥याउन कठिन भएको स्थानीयको गुनासो छ ।

स्थानीय गम्बरसिंह राईले पुलको काम ढिलासुस्ती हुँदा भोजपुरका बासिन्दाले धेरै दुःख पाइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “धरान जोड्ने सबैभन्दा छोटो बाटो हिँड्न यही पुल नबन्दा समस्या भएको छ । पुल बन्यो भने भोजपुरका बासिन्दालाई हरेक कुरामा सहज हुन्छ ।”

यहाँका बासिन्दाका लागि स्वास्थ्योपचार, अध्ययनका लागि, आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्न, दैनिक आवश्यक सामान किन्ने प्रमुख बजार धरान रहेको राईले बताउनुभयो । “चुहारमा पक्की पुल बनेपछि घोडेटारबाट चतरा हुँदै धरान पुग्न ५९ किलोमिटर यात्रा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले घोडेटार बजारबाट भोजपुर सदरमुकाम–धनकुटा हुँदै धरान पुग्न करिब दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।”

चुहारमा पुल निर्माण भए दक्षिणी भेगका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिका तथा खोटाङको साकेला गाउँपालिकाका बासिन्दाका लागि धरान आवतजावत गर्न आधा दूरी छोटिने स्थानीय बताउँछन् ।

कोशी प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत २०७७ सालमा चुहार पुलको ठेक्का लगाएको थियो । विसं २०७७ असोज २६ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको उक्त पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग रु २१ करोड २३ लाख १२ हजार चार सय सातमा ठेक्का सम्झौता भएको थियो ।

तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि विसं २०७९ चैत ६ गते कोशी प्रदेशसभा सदस्य सिर्जना राई, पूर्वमुख्यमन्त्री शेरधन राई, यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेललगायत सरोकारवालाबीच भएको बैठकले चारबुँदे निर्णय गर्दै विसं २०८० असोज १३ गतेसम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति भएको थियो । दोस्रो पटकको म्याद सकिँदा पनि निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयलाई आवागमनमा सास्ती भइरहेको छ ।

चतराको कोशी पुलबाट चुहारसम्म र चुहारबाट घोडेटारसम्म गाडी कुद्न सक्ने कच्ची सडक बनिसकेको छ । पक्की पुल निर्माण नहुँदा पुरानो झोलुङ्गे पुलबाट स्थानीय ओहोरदोहोर गरे पनि गाडी वारपार गर्न सकिँदैन । धरानबाट कुनै समान भोजपुर लानु वा ल्याउनु परे झोलुङ्गे पुलमा भरियालाई बोकाएर तार्नुको विकल्प छैन ।

हाल धरानमा व्यवसाय गर्दै आउनुभएका भोजपुर हतुवागढीका रमेश थापाले चुहार पुल अलपत्र परेको विषयमा स्थानीय नेतादेखि मन्त्रीसम्म कुरा गर्दासमेत सुनुवाइ हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भोजपुरका बासिन्दाको लाइफलाइनमा पर्ने उक्त पुल अलपत्र पर्दा व्यवसाय गर्नेलाई, बिरामी परेर तुरुन्त अस्पताल पु¥याउन सास्ती छ ।”

चुहारमा पुल निर्माण भए भोजपुरलाई धरानसँगै पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तयार हुन्छ । यसले भोजपुरको आर्थिक अवस्था सुधार गर्न र विकासका गतिविधि अघि बढाउन टेवा पुग्ने सप्तकोशी पुल नजिक होटल व्यवसाय गर्नु हुने सम्पत राईको धारणा छ ।

होटल कोशी प्यालेसका सञ्चालक राईले भन्नुभयो, “पुल बनेर बाटो सहज भए धरानदेखि चतरा, मैनामैनी हुँदै भोजपुरसम्मका विभिन्न क्षेत्रको पर्यटनको समेत विकास हुन्छ । कृषि उत्पादनले सहजरुपमा बजार पाउँछन् ।” यो सडक मार्गमा चतरा, सप्तकोशी, मैनामैनीलगायतका धार्मिक तथा पर्यटकीयस्थल पर्छन् ।

नब्बे मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुलको पिल्लर निर्माण आधा पनि सम्पन्न भएको छैन । पुलको पिल्लर निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि खगेन्द्र विष्टले विभिन्न समस्याले निर्माण ढिलाइ भएको दाबी गर्नुभयो । अहिले पनि पुलको पिल्लर वरिपरि पर्खाल लगाउने काम भइरहेको र पुनः म्याद थपिएपछि कामले गति लिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबैतिर यस्तै समस्या छ, हामी पनि चाँडै काम सक्नुपर्छ भनेर चिन्तित छौँ ।”

पटकपटक पुलको अनुगमन गर्नुभएकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले ठेकेदारले रकमको अभावले पुलको काम रोकिएको जानकारी गराएको बताउनुभयो । ठेकेदार सम्पर्कमै रहेको र रकम भुक्तानी हुने बित्तिकै काम सुरु गर्ने निर्माण कम्पनीको भनाइ रहेको उहाँले बताउनुभयो ।

चुहारमा पुल बनेपछि सुनसरी, उदयपुर, भोजपुरदेखि सङ्खुवासभाको किमाथाङ्कासम्म जोडिने भएकाले समग्र प्रदेशकलाई फाइदा हुने प्रदेशसभा सदस्य राईले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशले गौरवको योजना मानेर सुरु गरेको पुल चाँडो बन्नुपर्छ । हामी सम्बन्धित निकायलाई घच्घच्याउने छौँ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।