व्यावसायिक बाख्रापालक किसान पेसा प्रवर्द्धन गर्न एकताबद्ध

मिला दरै / डुम्रे (तनहुँ), २७ माघ : तनहुँमा व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन् । माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्यलाई निरुत्साहन गर्न एकजुट भएका हुन् ।

नेपाल बाख्रापालक महासङ्घका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारीले व्यावसायिक बाख्रापालक किसानलाई एकत्रित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले तनहुँ मासुमा आत्मनिर्भर भएको अवस्थामा पनि यहाँका खसीबोका अन्य जिल्लामा बेच्नुपर्ने भए पनि त्यसो हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बाह्य खसीबोका आयात गर्नुपर्ने अवस्था छैन तर यहाँका किसानका खसीबोका बिक्री वितरणमा समस्या भएको छ, यसको न्यूनीकरणका लागि व्यावसायिक बाख्रापालक किसान एकत्रित हुनुपर्छ, यसका लागि हामी लागिपरेका छौँ ।”

भण्डारीले आयातित खसीबोका बिक्री वितरणलाई निरुत्साहित गरी यहीँका उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । आयातित खसीबोका यहाँका बजार तथा होटलमा बिक्री हुने हुँदा यहाँका खसीबोका बिक्री वितरणका लागि बजारीकरण र भण्डारणको समस्या सृजना भएको उहाँले बताउनुभयो । भण्डारीले भन्नुभयो, “व्यावसायिक बाख्रापालक किसान एक भएर अब आयातित खसीबोका बिक्री वितरणमा कडाइ गर्न अनुगमन तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्नेछौँ, आवश्यक सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरी अगाडि बढ्ने तयारी गरिरहेका छौँ ।” यहाँ स्थानीय उत्पादन प्रयोग गर्ने वातावरण बनाएर वास्तविक किसानका खसीबोका बिक्री वितरण गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

सरकारबाट प्राप्त हुने अनुदान प्राप्त गर्न महासङ्घबाट प्रक्रियागत रुपमा अगाडि बढ्ने गरी नीतिनिर्माण गर्न केन्द्रीय समिति लागिपरेको समेत उहाँले जानकारी दिनुभयो । नेपाल बाख्रापालक महासङ्घ तनहुँका अध्यक्ष चिनबहादुर भण्डारीले बाह्य खसीबोका आयातलाई निरुत्साहित गर्दै यहीँको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, “बाख्रापालनसँगै मासु व्यवसायलाई अगाडि बढाउन चाहने किसानलाई महासङ्घले सहयोग गर्छ, बाहिरबाट आयात हुने मासुलाई निरुत्साहित गर्दै जिल्लाबासीलाई जैविक मासु खाने वातावरण तयार गर्नेछौँ ।” जिल्लाबासीलाई प्राङ्गारिक रुपमा उत्पादित खसीबोकाको मासु उपभोग गर्न पाउने बनाउन प्रक्रियामा अगाडि बढेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयातित खसीबोका बिक्री वितरणमा कडाइ गर्नेछौँ, यसले वास्तविक किसान मर्कामा पर्नुपर्ने अवस्था रहँदैन, यहीँको बजारमा हाम्रा खसीबोका खपत हुनेछन्, समन्वय गर्नुपर्ने सङ्घसंस्थाबाट अनुमति लिएर नै सजगताका साथ काम अगाडि बढाउने र जिल्लाबासीलाई जैविक मासु उपभोग गर्ने बनाउनेछौँ, यहीँको खसीबोका बिक्री भएमा आर्थिक मन्दी घटाउनसमेत टेवा पुग्नेछ ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यावसायिक बाख्रापालक किसानलाई अन्य व्यवसायसँग तुलना गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्रापालक किसानले आफ्ना हकहित र व्यावसायिक समस्या समाधानमा समन्वय र सहयोगमा एक भएर काम गर्दा किसानमा उत्साह थपिएको छ, यसले वास्तविक किसानले सहयोग पाउनेछ ।” उहाँले व्यावसायिक रुपमा खसीबोका उत्पादन गर्दा निस्कने प्राङ्गारिक मलको उपयोग हुने गरी कृषिलाई सहयोगी व्यवसाय बनाउन सुझाव दिनुभयो । नगर प्रमुख न्यौपानेले भन्नुभयो, “माछामासु आयात गर्नुपर्ने अवस्था छैन, तर खाद्यान्नका साथै गोलभेँडा, काउली, आलुलगायतका तरकारी तथा फलफूल बाहिरबाट आयात गर्न बाध्य छौँ, माछामासुसँगै यी वस्तु पनि यहीँ उत्पादन गर्नतर्फ किसान लाग्नुपर्छ ।”

उहाँले सहकारीमार्फत खसीबोका बिक्री वितरणमा अनुदानको व्यवस्था भएको जानकारी गराउँदै सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्न सुझाव दिनुभयो । सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्दा नगरपालिकाले प्रतिकिलो रु १० अनुदानस्वरुप प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले खसीबोका बिक्री गर्न सहकारीमा आबद्ध हुन आग्रह समेत उहाँको छ ।

बाख्रापालक किसानलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्र्ने कार्यमा नगरपालिकाको सदैव साथ रहेको उहाँले बताउनुभयो । रासायनिक मलको उपभोगमा न्यूनीकरण गर्दै बाख्राको बडकौलालाई प्रविधिकरण गरी खेर जाँदै गरेका मलबाट उपभोग्य बनाउन आवश्यक रहेकाले बाख्रापालक सङ्घसँग समन्वय गरी यसको विकासमा सहयोग गर्ने बताउनुभयो । विपत्मा परेर बाख्रा वा पशु मरे नगरपालिकाले राहत उपलब्ध गराउँदै आएको र यस्ता कार्यसम्बन्धी किसान जानकार हुनुपर्नेमा उहाँको जोड थियो ।

व्यास–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले सामुदायिक वनलाई बाख्रापालक किसानले चरन क्षेत्रका रुपमा उपभोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्रापालक किसानले सामुदायिक वनसँग समन्वय गरी चरन क्षेत्र बनाउनुपर्छ, ठूला रूखको व्यवस्थापन गर्दै बुट्यानलाई पशुपालकले उपयोग गर्ने गरी समन्वय गर्नुपर्छ, यसले सहज बनाउनेछ ।”

व्यावसायिक बाख्रापालक किसान एकत्रित बन्दै नगरस्तरीय समिति गठनमा लागेका छन् । समितिमार्फत निर्णय गरी प्रक्रिया अगाडि बढेमा वास्तविक बाख्रापालक किसानले सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य आवश्यक सहयोगमा सहजता कायम हुने अपेक्षा गरिएको छ । अनुदानभन्दा पनि बैङ्क ऋणको ब्याजदर कम भए किसानलाई सहज हने उहाँहरुको भनाइ छ ।

नेपाल बाख्रापालक सङ्घ व्यास नगर समिति गठन गरिएको छ । नेपाल बाख्रापालक महासङ्घ तनहुँका अध्यक्ष भण्डारीको अध्यक्षतामा शुक्रबार दमौलीमा बसेको बैठकले नगर समिति गठन गरेको हो । व्यास नगर समितिको अध्यक्षमा व्यास–११ का उदयनाथ अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा व्यास–९ का सरस्वती कुमाल, सचिवमा व्यास–१० का विष्णुहरि न्यौपाने र कोषाध्यक्षमा व्यास–११ का शोभा बोहरा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा व्यास–५ का दिलबहादुर थापा, व्यास–१३ का रामहरि सेढाई, व्यास–१२ का जसबहादुर भुजेल, व्यास–७ का होमबहादुर गुरुङ र व्यास–८ का प्रदीप ओझा चयन हुनुभएको छ । जिल्लाका १० वटै पालिकामा समिति गठन गरी सशक्त बनाउने सङ्घको लक्ष्य छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।