पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

सन्तोष पुर्कुटी/ताप्लेजुङ, २८ माघ : ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि बढाउनुपर्ने उनीहरुले बताएका हुन् ।

केबलकारसँगै यहाँ अन्य पर्यटकीय पूर्वाधार निर्माण भए आर्थिक रुपमा समग्र जिल्लालाई फाइदा पुग्ने यहाँका स्थानीय सरकारका प्रमुखहरुको धारणा छ । उनीहरुले पाथीभरामा केबलकार निर्माण गर्न सकिएमा आन्तरिक एवं भारतीय धार्मिक पर्यटकका साथै कञ्चनजङ्घा आधार शिविर आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् ।

अहिले यहाँ देवीको दर्शन गर्न तथा पर्यटकका रुपमा वार्षिक तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक एवं तीर्थालु आउने गरेकामा केबलकार बनेपछि कम्तीमा १५ लाखसम्म पर्यटक यहाँ आउने उनीहरुको आकलन छ । त्यसैले उनीहरुका लागि होटल, रेष्टुरेन्ट एवं यातायातजस्ता आधारभूत पर्यटकीय पूर्वाधारको निर्माण समेत हुने भएकाले यो बृहत आयोजनाले ताप्लेजुङको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ ।

यहाँको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा देवीको मन्दिरमा जाने प्रयोजनका लागि बन्न लागेको प्रस्तावित केबलकारबाट जिल्लाको मात्र नभएर सिङ्गो कोशी प्रदेशमा नै विकासको बाटो खुल्ने भएकाले यो बृहत आयोजनालाई जतिसक्दो चाँडै अघि बढाउनुपर्ने बताउनुहुन्छ ।

आफू त्यसका लागि लागिपरेको र अर्बाैं रुपैयाँको यो ‘मेगा प्रोजेक्ट’ यहाँ भित्र्याउन सकिएमा यसले आफ्नो पालिकामात्र नभएर जिल्लाकै आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने उहाँको भनाइ छ । पाथीभरा देवीको मन्दिर फुङलिङ नगरपालिका, सिरीजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाको सङ्गममा पर्दछ ।

“यहाँ केबलकार बनेपछि वर्षमा कम्तीमा १५ लाख मानिस यहाँ आए भने हामीलाई रोजगारीमात्र नभएर स्थानीय उत्पादनको बजार र यहाँको जीवनस्तर विकासमा ठूलो सहयोग पुग्नेछ । त्यसैले हामी प्रस्तावित यो ‘मेगा प्रोजेक्ट’लाई जतिसक्दो चाँडै सम्पन्न गर्नुपर्छ भनेर लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रमुख मादेनले केबलकार निर्माण कम्पनीले मन्दिरलाई पर्खाल लगाएर संरक्षण गर्ने र यसको ऐतिहासिकता र सौन्दर्यमा कुनै असर नपर्नेगरी मन्दिरबाट करिब आठ सय मिटर तल केबलकारको टप स्टेसन राखेर त्यहाँबाट हिँडेर जानेगरी निर्माण प्रस्ताव गरेको जानकारी दिनुभयो । अर्बाैं लगानीको यो अवसरलाई हामीले छोड्यौँ भने ताप्लेजुङवासीको भाग्य पनि फुत्किन्छ भनेर आफू लागिपरेको र यसका लागि सबै जिल्लाबासी नै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

सो केबलकार निर्माणका विषयमा कतिपयले विरोध पनि गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको युगमा आएर पनि मेरो मन्दिर, मेरो बाटो भन्नेजस्ता कुरा गरेर कहाँ हुन्छ ? मन्दिर सबैका लागि खुला सम्पदा हो । यहाँ केबलकार बन्नु भनेको पनि सबै तीर्थालुकै सजिलोका लागि हो । अनि केबलकार निर्माण गर्दा जिल्ला र प्रदेशकै कायापलट हुन्छ भने केहीले विकास निर्माण गर्नै दिन्नौँ भन्दैमा कहाँ हुन्छ ?”

केही स्थानीयले मन्दिरको सौन्दर्य बिग्रिने र मौलिकता हराउन सक्ने भन्दै निर्माणको विरोध गरे पनि स्थानीय तहका प्रतिनिधिहरु तथा निर्माण कम्पनीले मन्दिरको आसपासमा कुनै पनि संरचना नबन्ने, केबलकारको टप स्टेसन पनि करिब आठ सय मिटर तलै राखिने र अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिरको वर्तमान प्रवेशद्वारबाटै भक्तजनहरु जान सकिनेगरी निर्माणको प्रस्ताव भएकाले केबलकार निर्माणको विरोधको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रमुख मादेन भन्नुहुन्छ “यो हाम्रो सभ्यता र पवित्र मुन्धुम थलो हो । अहिलेको जमानामा आएर पनि तेरो र मेरो धर्म भन्ने कुरा हुँदैन । देवीप्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ । अनि विरोधका कुरा पनि सबैका सुन्नुपर्छ । तर कुनै पनि बहानामा विकासको काम रोक्नु हुदैन । एक पटक विनाश र विरोध नभई विकास पनि त हुँदैन । त्यसैले हाम्रो अधिकार हो, केबलकार बनाउने नै हो ।”

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा पर्दछ । यहाँ बर्सेनि करिब तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक पुग्ने गर्दछन् । धेरै उचाइमा मन्दिर रहेकाले यहाँ पुग्न तीर्थालुलाई गाह्रो पर्ने गरेको छ । त्यसैले केबलकार निर्माण गर्न सकिएमा यहाँ जाने धार्मिक पर्यटकलाई सजिलो होस् भनेर गएको दशकदेखि नै यहाँ केबलकार निर्माण सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

यहाँ पाथिभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीले केबलकार निर्माणको प्रक्रिया सुरु गर्न लागेको छ । स्थानीयहरुले भने कम्पनीलाई चाँडै काम थाल्न भनेका छन् । उनीहरुले देशका विभिन्न धार्मिक पर्यटकीय स्थानहरुमा धमाधम केबलकारदेखि अन्य पर्यटन पूर्वाधारहरु बनिरहेका बेला पाथीभरामा पनि जतिसक्दो चाँडै काम थाल्न भनेका हुन् ।

उनीहरु इलामको एक चिया बगानमा त बर्सेनि लाखौँ मानिस जान्छन् भने यहाँ केबलकार बन्दा ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो र सोझो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक भित्र्याउन पनि सघाउ पुग्ने स्थानीयको भनाई छ ।

केबलकार बन्ने भएपछि यहाँ आउने करिब १५ लाख पर्यटकका कारण स्थानीयले रोजगारीका साथै कम्पनीको पनि १० प्रतिशत शेयर पाउने, यहाँको उत्पादनले बजार पाउने तथा स्थानीय उपजले सहजै बजार पाउने भन्दै स्थानीय भने चाँडो केबलकार र अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि लाग्न आग्रह गर्दछन् ।

यहाँ केबलकार र यसका कारण सडक यातायात पनि बन्ने भएकाले विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै देवीको दर्शन गर्न भारतको पश्चिम बङ्गाल, दिल्ली, बिहारका समेत गरी लाखौँ धार्मिक पर्यटक भित्रिने अनुमान स्थानीय तहको छ ।

सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पाथीभरामा तीर्थयात्रीको सङ्ख्या वृद्धि गर्न र यहाँको विकास अघि बढाउन केबलकार बन्नुपर्नेमा जोड दिनुभएको छ । केबलकार बनेमा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै मन्दिरको संरचना र ऐतिहासिकतामा असर नपुग्ने गरी केबलकार निर्माण गर्दा राम्रो हुने उहाँको सुझाव छ । पर्यटकको आगमन बढ्दा आर्थिक रुपमा जिल्लालाई फाइदा पुग्ने भएकाले स्थानीय तहलाई समेत सम्बोधन गरेर निर्माण हुनुपर्ने उहाँले बताउनुभयो ।

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जिल्लाबासीका सुझाव एवं मागलाई उचित रुपमा सम्बोधन गरेर निर्माण अघि बढाउन सुझाउनुहुन्छ । विवादबीचमा निर्माण सुरु गर्नुभन्दा यहाँका स्थानीय नागरिकका कुरा सुनेर र विवाद समाधान गरेर अघि बढ्नु उचित हुने उहाँको भनाइ छ ।

मन्दिरको प्राकृतिक स्वरुप र ऐतिहासिकतामा असर नपुग्ने गरी निर्माण गरिने प्रतिबद्धता आएकाले यस कुरालाई स्थानीयसँग बसेर विश्वास कायम गरी निर्माण अघि बढाउन उचित हुने उहाँले बताउनुभयो । यहाँ केबलकार बन्दा पर्यटन प्रवद्र्धनका लागि भौतिक विकासका गतिविधिले सहयोग पु्ग्ने उहाँको भनाइ छ ।

यसैबीच केबलकार निर्माणको विरोधमा रहेका केही स्थानीयसँग छलफल गर्न सोमबार बैठक पनि आह्वान गरिएको छ । निर्माणप्रति असहमति जनाइरहेको पक्षसँग समन्वय गर्नका लागि यसअघि जिल्ला समन्वय समितका प्रमुख छिरिङ लामाको संयोजकत्वमा गठित समितिले सोमबार छलफलको आयोजना गरेको हो ।

“केबलकार निर्माणको विरोधमा रहेको पक्षसँग सोमबार छलफलको तयारी भएको छ, हामीले लिखितरुपमा आफ्ना माग लिएर आउनुहोस भनेका छौँ, उचित र सम्बोधन गर्न सकिने मागका सम्बन्धमा छलफल गरेर निर्माण प्रक्रिया अघि बढाउने वातावरण बनाउछौँ”, जिल्ला समन्वय समितिका प्रमुख लामाले भन्नुभयो, “हामी विकास निर्माणको कामलाई अघि बढाउनुपर्छ भन्नेमा छौँ र यसबारेमा भोलिको बैठकमा आवश्यक छलफल गर्नेछौँ ।”

यता केबलकार खारेजी संयुक्त संघर्ष समितिले भने पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नुहने अडान कायमै राखेको छ । ऐतिहासिक मुन्धुमी स्थलमा केबलकार निर्माण भए ऐतिहासिकता मेटिनुका साथै जल जमिन र जङ्गलको बिनास हुने उनीहरुको जिकिर छ ।

यहाँ केबलकार निर्माण गर्ने चर्चा करिब दश वर्षअघिदेखि भए पनि निर्माण भने हुन सकेको छैन । त्यसैले यसपटक केबलकार निर्माणका क्षेत्रमा अनुभवी कम्पनी पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माणको अनुमति पाएकाले निर्माणको वातावरण बनाउनुपर्नेमा जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधि छन् । यसअघिका छलफलमा यहाँका प्रमुख राजनीतिक दलहरुले केबलकार निर्माणलाई चाँडै अघि बढाउन माग गरेका थिए ।

आन्तरिक रुपमा देखिनसक्ने सबै प्रकारका विवादको समाधान गरेर जिल्लाको पर्यटन प्रर्वद्धनका लागि केबलकार र यससहितका पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि बढाउन दलहरु सकारात्मक देखिएका हुन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।