ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

म्याग्दी (बेनी), २९ माघ : म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।

म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल हुनुभएकी ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिको रुपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोक दोहोरी गीत ओझेलमा परेको बताउनुभयो ।

उहाँले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोक दोहोरीको रौनक हराएर जान थालेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “परम्परागत रुपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गथ्र्यो । लोक दोहोरीलाई धेरैले रुचाउने गर्थे । ” दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोक दोहोरी गाउने र वाद्यवाधन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताउनुहुन्छ ।

“मैले गाउँमा आमाहरुले रोधी गाउँदा गीत गाउन थालेको थिएँ, १५ वर्षको उमेरमा नै तत्कालीन अञ्चलस्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ, पछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो टिम प्रथम भयो, धौलागिरि क्षेत्रका मेलामा थुप्रै पटक पुरस्कार जितेका थियौँ, तर आजभोलि मेला महोत्सवमा स्थानीयस्तरका दोहोरी प्रतियोगिता निकै कम मात्रामा भएको देखिन्छ”, उहाँले भन्नुभयो । बेनीको माघेसङ्क्रान्ति मेला, गलेश्वरको सतबिज छर्ने मेला, बरङ्जाको धुलेमेला, राखुभगवतीको बडादसैँ मेला र बागलुङको चैतेदसैँमा लोक दोहोरी गीत सुन्न भीड नै लाग्ने गरेको उहाँको भनाइ थियो ।

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सदभाव, नाता सम्वन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उहाँ स्मरण गर्नुहुन्छ । तत्कालीन समयमा रेडियो नेपालमा समेत स्वर परीक्षणमा उर्तिण हुनुभएकी गायिका थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गरी बाहिर ल्याउनुभएको छ । विसं २०४० को दशकमा म्याग्दीमा थापासँगै कृष्ण पौडेल, बीरबहादुर कार्की, नरबहादुर बिसीलगायतका कलाकारहरु गण्डकी क्षेत्रमै लोकदोहोरी गाउने चर्चित कलाकारको रुपमा परिचित हुनुहुन्थ्यो । बेनी–६ का अग्रज लोक दोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताउनुभयो ।

“म शिक्षणको क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौँ”, उहाँले भन्नुभयो । गायिका थापा र गायक पौडेलले बागलुङको चैतेदसैँ मेलामा लगातार प्रथम पुरस्कार हात पारेपनि उहाँहरुले सहभागी हुन नै छाड्नुपरेको थियो । शिक्षणमा ३७ वर्ष बिताउनुभएका ६१ वर्षीय पौडेलले दुई दशकसम्म प्रत्यक्ष लोकदोहोरी गाउनुभएको थियो । “मैले लामो समय प्रत्यक्ष दोहोरी गाएँ, तर गीत नै रेकर्ड भने गराउने मेसो मिलेन, त्यतिबेला गाउँगाउँका मेलामा दोहोरी गीत गुञ्जन्थ्यो, हिजोआज रेकर्डका गीतले मेला महोत्सवमा बढी ठाउँ पाउन थालेका छन्, यसले गर्दा परम्परागत नेपाली मौलिक संस्कृतिको रुपमा परिचित लोक दोहोरी गाउँगाउँबाट हराउने अवस्थामा पुगेको छ”, पौडेलले भन्नुभयो ।

तत्कालीन समयमा मेला पर्वमा प्रतियोगी लोक दोहोरीसँगै रातभर रोधि बसेर गाउने चलनसमेत थियो । म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन् । तर मेला महोत्सवमा स्थानीय लोक दोहोरी प्रतियोगिता वीरलै मात्रामा आयोजना हुने गरेका छन् । म्याग्दी लोक दोहोरीमा उर्वर भूमिको रुपमा समेत चिनिन्छ । पछिल्लो पुस्ताबाट लोक दोहोरी गायक गायिकाको रुपमा पहिचान बनाउन सफल कलाकार कृष्ण परियार, कुलदीप जुग्जाली, सोभा कार्की, सुमी घिमिरे सापकोटा, राम गगन, राजन भुजेललगायतले जिल्लाकै मेलाबाट आफ्नो गायन यात्रा सुरु गर्नुभएको थियो ।

मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रुपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउनुहुन्छ । “मेला महोत्सवमा स्टेज प्रस्तुतिको व्यापकता बढेको छ, परम्परागत रुपमा हुँदै आएको लाइभ दोहोरीको संस्कृति ओझेलमा पर्दै गएको छ, तर पछिल्लो समय म्याग्दीमा त्यसको खोजी र संरक्षणमा चासो पनि उत्तिकै बढेको पाएको छु”, उहाँले भन्नुभयो । हालै बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको जिल्लास्तरीय खुला दोहोरी गीत प्रतियोगितामा विभिन्न १० समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा नयाँनयाँ कलाकारले राखेको दोहोरी घम्साघम्सीले दोहोरी गाउने प्रतिभा जिल्लामा प्रस्फुटन र पहिचानको पर्खाइमा रहेको पुष्टि हुने उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।