भोजपुरको पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु

भोजपुर, २९ माघ : जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिब तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो ।

गाउँपालिकाले फुसको छानो हटाउनेसम्बन्धी कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्रका मापदण्डमा परेकामध्येबाट छवटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन सुरु गरिएको उहाँको भनाइ छ । “गाउँपालिकाभित्रका फुसको छानो हटाउने अभियानको थालनी गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “हामीले यसअघि नै घरपरिवारको तथ्याङ्क सङ्कलन गरेका छौँ, पहिलो चरणमा लक्षित परिवारको छानो परिवर्तन गर्ने हाम्रो लक्ष्य छ, आजदेखि जस्तापाता वितरण थालेका हौँ ।”

गाउँपालिकाले यो आर्थिक वर्षमा रु एक करोडको बोलपत्र आह्वान गरेर फुसको छानो हटाउन सुरु गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षितरुपमा बास बस्नसक्ने वातावरण निर्माणका लागि गाउँपालिकाले प्राथमिकताका साथ फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

केन्द्रसरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटाइएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । पहिलो चरणमा छ वटै वडाका ५०÷५० घर गरेर तीन सय परिवारलाई जस्तापाताको छानो वितरण हुने अध्यक्ष राईको भनाइ छ ।

“नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भन्नुभयो, “गरिबीका कारण कतिपय परिवार वर्षौंबाट चुहिने घरमा बस्दै आएको अवस्था पनि छ, ती नागरिकलाई स्थानीय सरकारले अभिभावकत्व प्रदान गर्न अभियान सुरु गरेर फुसको छानो हटाउन थालेको हौँ ।”

गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा यहाँ छ सय ९९ घरपरिवारको आवेदन परेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । आएका आवेदनमध्येबाट पहिलो चरणमा लक्षित परिवारको छानो फेर्नका लागि जस्तापाता दिइएको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षभित्र सवै परिवारको फुसको छानो हटाउने लक्ष्य रहेको उपाध्यक्ष राईले बताउनुभयो ।

“गाउँपालिकामा छ सय ९९ परिवारको आवदेन परेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “अहिले पहिलो चरणको काम सुरु गरेका छौँ, आगामी आर्थिक वर्षभित्र यहाँका सबै परिवारको फुसको छानो हटाउने योजनाका साथ काम अघि बढाएका छौँ ।” गाउँपालिकाले एकरुपतासँगै आगलागी तथा अन्य विपत्लाई ध्यानमा राखेर फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

वडा नं १ श्याशिलाका एक सय ३१, वडा नं २ तिवारी भञ्ज्याङमा ७१, वडा नं ३ च्याङ्ग्रेबाट एक सय छ, वडा नं ४ बास्तिमबाट एक सय चार, वडा नं ५ सोनादुम्माबाट एक सय ३२ र वडा नं ६ ठूलोदुम्माका एक सय ५५ परिवारले आवदेन दिएको गाउँपालिको जनाएको छ ।

कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न लक्षित परिवारलाई काम गर्ने तरिका, आवश्यक प्रक्रियाको जानकारी दिनका लागि प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम भइरहेको छ । छानो हटाउने पहिलो चरणको कार्यक्रम आगामी ४५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।