कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन, होलिस्टाइन जातको बाच्छी हस्तान्तरण

कमलकुमार बस्नेत/सिन्धुली, १ फागुन : सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गर्नुभयो ।

भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘खाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेललगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो । सो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम छ ।

कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उद्घाटनका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै सफलताको कामना गर्नुभयो । “नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेजको शुभारम्भ ऐतिहासिक र दुई देशबीचको सुमधुर सम्बन्धको सङ्केत हो”, उहाँले भन्नुभयो, “मोडेल डेरी भिलेजले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास छ ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा पौडेलले मोडेल डेरी भिलेज एक वर्षको मेहनतको फल भएको उल्लेख गर्दै आगामी दिनमा सामूहिक सहकार्यमा जोड दिएर अघि बढ्न सुझाव दिनुभयो । होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरण लगायतका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

“कमलामाई नगरपालिकाका–४ र ५ मा जस्तै होलिस्टाइन जातका गाई अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ । यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ”, सचिव डा पौडेलले भन्नुभयो, “दूधको बिक्री र दुग्घजन्य वस्तुको उत्पादन गर्नेगरी आवश्यक तयारी सुरु गर्नुपर्छ ।”

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइन जातको गाईपालन विस्तार गर्दै लैजाने र उत्पादित दूधलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । “कोरिया सरकार, हेफर इन्टरनेशनललगायत सङ्घसंस्था र स्थानीय किसानको प्रयासबाट मोडेल डेरी भिलेजको अवधारणाले मूर्तरुप लिएको हो”, उहाँले भन्नुभयो, “होलिस्टाइनजस्ता उन्नत जातका गाईपालनबाट यहाँका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।”

कमलामाई–४ र ५ मा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको ो हो । नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९÷८० देखि सुरु भएको हो ।

दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र आठ उच्च प्रजननमान भएका होलिस्टिन बहर उपलब्ध गराएको थियो । सोमध्ये कमलामाई नगरपालिकाका ५० किसानलाई ८० गाई वितरण गरिएका थिए ।

हाल ५० परिवारमा ती गाई वितरण गरिए पनि आगामी पाँच वर्षमा पाँच सय किसानलाई ती कोरली गाई वितरण गरिने छन् । कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो । कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।