बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग

लुम्बिनी (मर्चवार), २ फागुन : बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ ।

लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ । समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको जनाएको छ । समितिले लुम्बिनी विकास कोषलाई हालै बुझाएको १९ बुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिवसहितका पदाधिकारी र दुईजना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न समेत माग गरेको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका सङ्घीय सांसद र प्रदेशसभा सदस्य विधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन नगर्ने तथा गुरुयोजनाविपरीतका अनधिकृत संरचना तत्काल हटाउन माग गरेको छ । त्यसैगरी मायादेवी मन्दिरभित्र नित्य पूजा, सन्ध्या आरती तथा दीप प्रज्ज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिले कोष समक्ष आग्रह गरेको छ ।

शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने खालका कार्यक्रम गर्न पाउने कार्यविधि यथाशीघ्र बनाई अन्तर्राष्ट्रिय सभाहललाई सञ्चालनमा ल्याउन तथा कोषको गुरुयोजनामा उल्लेख भएअनुसार कोष परिसरभित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैँचाको तत्काल निर्माण थालनी गर्न समितिले माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “ मायादेवी मन्दिरलाई बिहान ५ देखि बेलुका १० बजेसम्म खुला राखिनुपर्छ । पण्डित गङ्गाप्रसाद पाण्डे विगतमा पुस्तौँपुस्तादेखि मायादेवी मन्दिरको पूजापाठ गर्दै आएकामा निजका सन्तानलाई एक स्थान सुरक्षित राख्नु पर्दछ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनुपर्दछ र लामो समय काम गरेका कर्मचारीलाई स्थायी बनाउनु पर्दछ ।”

लुम्बिनी अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था गर्न, बँदेल निलगाईलगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्ति प्रदान गर्न , एसियाली विकास बैंकबाट अनुदानमा प्राप्त विद्युतीय बस तथा भ्यान आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यथाशीघ्र सञ्चालन गर्न तथा गेट नं ४ र ५ को बीचमा साना सवारी राख्ने उद्यान निर्माण गर्न सिमल, पिपल, वर, आदिको संरक्षण गर्न, लुम्बिनीमा अहिलेसम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मूर्ति तथा अमूल्य पुरातात्विक वस्तुको अभिलेख राख्न समितिले कोषसमक्ष माग राखेको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।