शब्दहरुमा राष्ट्रपति रनिङ शिल्ड धनकुटा
धनकुटा । हाम्रो देश फुटबल , भलिबल , क्रिकेट, हक्की जस्ता विश्वप्रसिद्ध खेलहरुमा तुलनात्मक रुपमा पछि छ । पछि पर्नुको मुख्य एउटा कारण हाम्रा पुर्खाहरले यी खेलहरुको सट्टा डन्डिबियो , भालेजुधाई , कुदीमारीहरु मात्रै लगभग खेले । युरोपियन राष्ट्रहरु माथि उल्लिखित खेलहरुमा संसारभरी परिचित छन किनकि त्यहाँका पुर्खाहरुले ती खेलहरु तुलनात्मक रुपमा धेरै अगाडिदेखि खेले । लगाब , लगानी र निरन्तरता को विश्वबजारमा उनिहरु आज प्रसिद्ध छन । हामी पनि हाम्रै माटोमा चाहि खत्रै छौ तर अन्तराष्ट्रिय प्रतिष्पर्धामा छाती पिटेर गर्व गर्न सक्ने भइसकेका छैनौ ।
राज्यले विद्यालय स्तरको देशैभरि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालनको अवधारणा ल्याएसँगै यो प्रतियोगिता हरेक खेल्न सक्ने विद्यार्थीको लागि सुबर्ण अवसरको रुपमा विकसित हुँदै गरेको भएता पनि गाउँ / नगर , जिल्ला , प्रदेश हुँदै केन्द्रमा समापन भइ राष्ट्रिय स्तरको उपलब्धि हासिल भएपछि ती खेल खेल्नेहरु गुम्राहमै पर्छन , छायामा पर्छन या के भनु ओझेल पर्छन । राष्ट्रब्यापी खेलहरुमा छनौट भएपछि राज्यले कम्तिमा ती खेलाडीहरुलाई राज्यको नाममा खेलाउनुपर्छ त्यसरि छनौट भएका खेलाडिहरुले अन्तराष्ट्रिय बजारमा धमाका पिट्न सक्छन । माध्यमिक तहको मात्र किन आधारभूत तह बाटै उनिहरुलाई आधार तय गर्दै दौड , लङजम्प , हाइजम्प , ज्याभ्लिङ , रिले दौड , सटपट , कबर्दी , उसु , तेक्वान्दो , भलिबल जस्ता विधाहरुमा ग्रासरुटबाटै बलियो पारेर लानुपर्छ । यसको अलबा फुटबल , क्रिकेट जस्ता खेलहरुलाई अनिवार्य राष्ट्रपति रनिङ शिल्डमा समावेश गरि सन्चालन गर्न आवस्यक छ । सानैबाट राम्रो स्कुलिङ गरे उनीहरु नेपालको नाममा म्याचफिक्सिङ खेल्न सक्दैनन् । खेलको दुनियाँमा जित्न सक्ने सम्भावना हुर्केर जान्छ । खेलका विधाहरुलाई सगरमाथा झै बनाउनुपर्छ । विश्वप्रख्यात । जताततै नेपालै नेपालको नाममा खेलकुद ।
धनकुटाको सन्दर्भमा यो साल सदा झै सदरमुकाम केन्द्रित आयोजना विकेन्द्रीकरण भयो । यो सुखद सन्देश भएको सबैको बुझाई थियो । विशेष शहरकेन्द्रित जुनसुकै कार्यक्रम पनि गाउँका कुनाकन्दराहरुमा आयोजना हुदाँ त्यसले पिछडा वर्गलाई चेतनाको पाठ संगै केही नयाँ आयामको लेशन सिकाइरहेको हुन्छ । जब धनकुटाका ६ पालिकाहरुको महालक्ष्मी स्थित चानुवा मावि दमारको खेलमैदानीमा प्रवेश हुन्थ्यो ! सबैको मुखबाट निस्किने एउटै आवाज हुन्थियो । आहा ! कत्रो ग्राउन्ड । कस्तो दाम्मि रछ यार । wow ground ! यस्तै – यस्तै । वल्लोछेउबाट हेर्दा आखाँले भ्याउन्जेल पल्लो छेउसम्म देखिन पनि सबै मैदान मात्र देखिने । खेलमैदानको दक्षिणी भागमा अविरल बगिरहेको पहाडी उचाईमा उच्च स्थानबाट बहने अरुणको ताजा दृष्यले न कसैलाई जाडो हुने न गर्मी न थकान न अल्छिपना । क्या सानदार भुगोल ! कस्तो मिलेको तरुनी फिगरजस्तो ।
उद्घाटन समारोहमा धनकुटाका जनप्रतिनिधिहरु भन्दै थिए यो खेलमैदानलाई प्रदेश स्तरिय खेलमैदानको रुपमा विकास गर्न प्रयास गर्नेछौ । यो पुर्वका पहाडी जिल्लाहरुको लागि सुखद आषा हो । पहलगर्न सक्नेहरुको लागि त्यतातिर विशेष ध्यानाकर्षण होस् । पुर्वाधार निर्माण हुनुपूर्व नै दमारले अब छिट्टै प्रदेशस्तरिय खेल खेलाउन पहल गर्ने ल्याकत राख्नुपर्छ किनकि त्यो ईश्वरीय शक्ति प्राप्त जमीनले त्यहीँ भनिरहेको छ । त्यसपछि त्यहा मुख्यमन्त्री , मन्त्री र केन्द्रीय सरोकारवालाहरु दमार आउनेछन र प्रदेश स्तरिय होइन राष्ट्रिय स्तरको खेलक्षेत्र बनाउने कागजमा तोक लगाउनेछन । त्यति सिस्टमेटिक ह्यरार्चिकल खेलहरु खेलाएर कुनै शंका या विवाद बिना सम्पन्न गर्न सफल महालक्ष्मी नगरका चानुवा मावि दमार लयागत विविध खेलजगतका खेल प्रशिक्षक तथा अम्पाएरहरुको कौशलतालाई खुट्टा बजारेर दाहिने हातको सलामी छ । बधाई छ । अनुशासन , मर्यादा र प्रतिबद्धता सबैको लागि सिकाइको पहिलो एजेन्डा बनोस । स्थानिय स्तरमा मात्र होइन देश तथा विदेशमा खेल्न सक्ने जनशक्ति व्यवस्थापनमा राज्यले हेलचेक्राई नगरोस । सुधार हुनेछ ; सुध्रिनेछ । नगरस्तरिय खेलहरु पनि सोही स्थानमा सम्पन्न भए । वि.व्य.स का केही युवा अध्यक्षहरुको विद्यार्थीप्रतिको जागरण ल्याउने अभियान कस्तो लोभलाग्दो । धन्यवाद ती खेलजगत बुझेका शैक्षिक मनहरुलाई ।।
बीचमा छ्यास्स सुने मैले सन्दर्भ उस्सुको थियो । त्यो खेल त्यहाँ विलकुल नौलो र अनौठो थियो । खुबै मज्जाले आनन्द लिइरहेका थिए आमजनमानस । एक गुरु भन्दै थिए छाती , टाउको , पेटमा बक्सिङ किक जे- जे ले सकिन्छ ननस्टप हान्ने है । प्रतिक्रियामा सानी बैनी मुसुक्क हाँसेर भन्दै थिइन गुरु ला… नाक फुट्छ होला… नाकमा लाग्यो भने …. त्यतिबेला उस्सु गुरु भन्दैहुनुहुन्थ्यो । ” जति नाक फुट्यो उति धेरै नाक बलियो हुन्छ । ” स्कुलिङ आ – आफ्नै । सायद युद्धभूमिमा उत्रिएको लडाकु पनि आफु मर्छु भन्ने सोच्दैन सबैलाई ध्वस्त पार्छु मात्र सोच्दो हो । खेल जित्नको लागि लक्षित हुनुपर्छ । हार स्वभाविक हुनुपर्छ । स्वीकारयोग्य । महालक्ष्मी नगरप्रमुखलाई मैले बीचमा छ्यास्स सोधे प्रमुख ज्युँ सात पालिकाका मेयर या अध्यक्षहरुको दौड हुनुभने तपाईं जित्नुहुन्छ होला हौ ! सार्है स्फूर्त हुनुहुन्छ । उहाँ भन्दै हुनुहुन्थ्यो दौड मात्र होइन बाबू म अरु धेरै थोकमा जित्न सक्छु । मैले भने मेयरसाहेब दौडमा जित्नुस् या नजित्नुस तर अरु धेरैमा जित्नुहोला । शुभकामना । उहाले धाप मारेर धन्यवाद भन्नुभयो । म उद्घाटन सत्र र समापन सत्रहरुलाई स्मरण गरिरहेको छु । स्टेजमा प्रतिष्ठित सांसद , शिक्षक, पत्रकार , नेता , खेलाडी , सुरक्षा निकाय , जनप्रतिनिधि लगायतका मुर्धन्य व्यक्तित्वहरुको गरिमाले कार्यक्रम भब्य देखिन्थ्यो । खेलमैदानको चारकुना विद्यार्थी , अभिभाबक र दर्शकहरुले भरिभराउ देखिन्थ्यो । लाग्थ्यो काठमाडौको टुडिखेलमा एसियन लेभलका खेलहरु हुँदैछन् । मन्चमा बोल्ने वक्ताहरु कस्ले सबैभन्दा उत्कृष्ट बोल्ने है झै गरेर बोलिरहेता पनि दर्शकको त्यति धेरै ध्यान केन्द्रीत थिएन । मान्छे भाषण रुचाउदैनन् । हैरान भएझै गर्छन । नेताहरु वा जनप्रतिनिधिहरु यस्तो काम गरेर निस्किउन ताकि जनताको माझ जादा जनताले वरिपरिबाट घेरुन र थप्पडीले स्वागत गरून् । नयाँपन ल्याउनैपर्छ । मोफसलमा यत्तिको उल्लासमय खेल सम्पन्न भयो खेलको महत्व यसरी नै सबैतिर हुन सके खेलाडीहरुको भविष्य सुनिश्चित देखिन्छ । निराशाले प्रतिभाहरु पलायन हुन नपरोस ।
अन्त्यमा , कतिपय विद्यार्थीहरुको लगनशीलत र प्रयास हेरेर केहि कोमल हृदय भएका मान्छेहरु भाबुक बनेको दृष्य देखिन्थ्यो । पत्रकारहरु कसरी मन छुने आलेख लेख्ने भनेर सोचमग्न देखिन्थे । पपुलर मानिसहरु कसरी यो जनमानसको सागरलाई आफ्नो फेभरमा पार्ने , के भन्ने र के आश्वासन दिने भन्नेमा थिए । पालिकाबाट आउने विद्यार्थी नेतृत्व कसरी आफ्ना विद्यार्थी प्रदेशस्तरमा पुर्याउने भनेर इन्सपाइरेशन गरिरहेका थिए । ज्येष्ठ नागरिकहरुसमेत कुर्सिमा बसेर लौरो टेकी खेलहेर्दै वृद्धभत्ता पाए भन्दा खुशी भएर मुस्कुराउदै छेउमा बसेकाहरुलाई सोध्धै भएपनि उत्सुकताका साथ रमाइरहेका थिए । उपाधी जित्नेहरु शिल्ड उचालेर आफ्नो तागत र सङ्घर्षको मेडलमा रमाइरहेका देखिन्थे ।निष्कर्षमा कार्यक्रमलाई यसो रिभ्यु गर्दा महालक्ष्मीले स्वर्ण मात्र होइन धमकेदार इतिहासमा मा सुनौला अक्षरहरुले आफ्नो नाम रङ्गायो अरुलाई चुनौति दियो आगामि वर्षहरुका लागि । हरेक विधामा खेल्नेहरुको नाम बोलाउदा म आफुलाई त्यहा उभिन पाए खेल्न पाए सोचिरहे र उमेर हेरेर पेट सुम्सुयाउदै समय धेरै पर पुगेछ भन्दै खेलेर होइन हेरेर चित्त बुझा भनेर आफैलाई सम्हाले ।अचेल त धेरै सामुदायिक विद्यालयहरुका स्कुलबस बाटैभरि पहेलै देखिएका । अल्पविकसितबाट विकसित उन्मुख लाग्ने चट्ट हेर्दा । फेरिपनि आयोजकको कठोर मिहिनेती हातहरुलाई इश्वरले चुमुन भन्ने शुभेच्छा सहित आमखेलाडीहरुलाई सुन्दर भविष्यको सफाचट शुभकामना । चानुवा मावि दमारका प्रिन्सपल भन्दै हुनुहुन्थ्यो विगतको तुलनामा यहाँ सबैभन्दा सस्तो दरमा खाना बस्नको व्यबस्थापनका लागि वल्लोछेउदेखि पल्लो छेउसम्म सहकार्य भएको छ । सबैले अथाह सहयोग गर्नुभएको छ । क्या सद्भावयुक्त समुदाय ।
फेरिपनि धनकुटा बाट पहिलो चोटि महालक्ष्मीले खेलाउने हिम्मत गर्यो । प्रथम हुने कौशलता देखायो । अरुलाई झन धेरै धन्यबाद ।हार्दिक बधाइ । समापन समारोहलाई सम्बोधन गर्दै धनकुटा सांसद राजेन्द्र राइले त्यस मैदानको स्तरोन्नति र निर्माणमा बोल्नुभएको आफु आजैबाट लाग्ने प्रतिबद्धता सायद हौसिदैन होला । जनताको विस्वास जित्ने वातावरण बनोस । शुभकामना सहित धन्यवाद ।।
–शिक्षक ध्रुब पौडेल


