विकास खर्च गर्ने ६ वटा महानगरपालिकामध्ये विराटनगर अब्बल

विराटनगर । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ । सबैभन्दा बढी विकास खर्च गर्ने वीरगञ्ज महानगरको ३४.३१ प्रतिशत छ ।

महानगरका १९ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताए । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको मेयर कोइरालाको भनाइ छ । मेयर कोइरालाकै शब्दमा महानगरको प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।

करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झण्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको छ । वडास्तरका साना विकासका योजना पनि धमाधम भइरहेको उनको भनाइ छ । विराटनगर महानगरपालिकाले पुँजीगत अर्थात् विकास खर्च १ अर्ब २६ करोड ८० लाख विनियोजन गरेकोमध्ये ३४.१५ प्रतिशत खर्च गरेको छ । वीरगञ्ज महानगरको पुँजीगत खर्च ३४.३१ प्रतिशत छ । वीरगञ्जले ७९ करोड २८ लाख विनियोजित बजेटमध्ये २७ करोड २० लाख रुपैयाँ मात्रै खर्चिएको छ ।

विभिन्न घटनाले सधैं चर्चा पाइरहने काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम विकास खर्च गरेको छ । काठमाडौं महानगरले विकास खर्च १४.११ प्रतिशत मात्रै गर्न सकेको छ । भरतपुरले विनियोजित पुँजीगत खर्चको करिब १८ प्रतिशत मात्रै खर्च गरेको छ । ललितपुर ३३ प्रतिशत गर्दा पोखरा महानगरपालिका २५ प्रतिशतमा सीमित छ । तीनै तहको सरकारले बजेट सार्वजनिक गर्दा विकास खर्च कार्यान्वयनमा जोड दिने बताउँदै आएका छन् । तर कार्यान्वयन पक्ष कमजोर हुँदा सधैं आर्थिक वर्षको अन्त्यमा हतारमा विकासका कार्य गर्ने प्रवृत्ति रहँदै आएको छ । विराटनगर महानगरमा वडाध्यक्षहरूको समन्वय र सक्रियता, कर्मचारी प्रशासनको जिम्मेवारितालगायतका कारणले विकास खर्चमा विराटनगर अब्बल देखिएको मेयर कोइरालाको भनाइ छ ।

“सरोकारवाला सबैको सक्रियताले माघसम्ममा विकास खर्च गर्ने महानगरमध्ये विराटनगर दोस्रो हुन सफल भएको छ,” मेयर कोइरालाले भने, “चालु आर्थिक वर्षमा विकास खर्च गर्ने सम्भवतः हामी पहिलो नै हुन्छौं ।”

विराटनगर महानगरको चालुतर्फको खर्च भने ४४.३१ प्रतिशत रहेको छ । चालु आवका लागि चालुतर्फ १ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये ६८ करोड ६२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । अन्य महानगरभन्दा विकास खर्चमा विराटनगर अब्बल हुनुमा नियमितजसो अनुगमन, उपभोक्ताहरूको सक्रियताले पनि काम गरेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।