विद्यालयस्तरदेखि नै मानव बेचविखनविरुद्ध अभियान चलाउनुपर्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै बालबालिका र महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

माइती नेपाल मोरङले महानगरपालिकामा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी समस्या, देखासिकीलगायतका कारणले बालबालिका र महिला बेचबिखनमा पर्ने गरेको सुनाउनुभयो । उहाँले विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिए बेचबिखनलाई न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो । “हप्ताको एकदिन सबै विद्यालय र कलेजमा बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्न सके जुन अहिले देखिँदै आएको समस्या न्यूनीकरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि प्याब्सन, एन–प्याब्सन, हिसानलगायत जति पनि संघसंस्थाहरु छन् उनीहरुसित चाँडै नै छलफल गरेर अभियान सञ्चालन गर्नुपर्छ ।” उहाँले माइती नेपालसित महानगरपालिका सहकार्य गरेर कार्य गर्न तत्पर रहेको समेत सुनाउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिका र महिलाको बेचबिखन बढ्दै गएको बताउनुभयो । मानव बेचबिखनको जोखिममा बढी बालबालिका भएका कारण अभिभावकहरु पनि चनाखो हुनु जरुरी रहेको कार्कीको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुख तिलक प्रसाईं, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले बेरोजगारी समस्या र देखासिकीले बालबालिका र महिलाहरु चाँडै गलत व्यक्तिहरुको प्रलोभनमा पर्ने गरेको बताउनुभयो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले विराटनगरस्थित रानी नाकाबाट १७४ जना बालबालिका र महिलाको उद्धार गरेको बताउनुभयो । उहाँले गत वर्षको मार्चदेखि २०२४ को फ्रेबुअरीसम्म माइती नेपालले ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरेको जानकारी दिनुभयो ।

पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका ४२ र १८ वर्षभन्दा माथिका १३२ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिनुभयो । उनीहरु रोजगारी र साथी भेट्न जान लागेको बहानामा रानी सीमा नाका पुगेका थिए । उद्धार गरिएका मध्ये मोरङका ५४ जना रहेको पोखरेलले बताउनुभयो । त्यसमध्ये विराटनगथर महानगरपालिकाभित्रका ११ जना बालिकाको उद्धार गरिएको उहाँको भनाइ थियो ।

माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माले सामाजिक सञ्जालको प्रयोगमार्फत दलालहरुले बालबालिका र महिलासम्म पहुँच विस्तार गर्ने गरेको सुनाउनुभयो । दलालहरुले राम्रो जागिर दिने प्रलोभन देखाएर बालबालिका र महिलालाई भारत पु¥याउने गरेको उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।