धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव हुने
धनकुटा,२९ चैत । नयाँ बर्ष २०८१ को अवसर पारेर कुनै समय व्यापारीक रुपले धनकुटा मात्र नभएर कोशी पहाडी जिल्लाको केन्द्रको रुपमा रहेको धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन चैत ३० देखि बैशाख २ गतेसम्म बिहिबारे हटियामा उत्सव गर्न लागिएको आयोजकले धनकुटामा पत्रकार संमेलन गर्दै जानकारी गराएको हो ।
कोप्चे सडक संजाल विस्तार संगै ओझेलमा रहेको र त्यसको पुन जागरण गर्न कोप्चे उत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका सामाजिक विकासका लागि यूवाहरुको प्रयास धनकुटाका कार्यक्रम संयोजक रिदम श्रेष्ठले जानकारी दिए । कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि गत वर्षबाट पुरानै चहलपहल फर्काउन भन्दै नयाँ वर्षको अवसरमा कोप्चे उत्सव सुरु गरिएको श्रेष्ठले बताए ।
कोप्चे क्षेत्रको मौलिक नेवारी र आठपहरिया कला, संस्कृति, भेषभुषा, रहनसहन तथा खानाको संरक्षण र प्रवद्र्धनका लागि फेस्टिभल गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले बताए । उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् ।
त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु खेलाइनेछ । धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र पनि देखाइने आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उत्सवमा करिब १० लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।


