धनकुटामा किसानले पानी माग्दै यसरी गर्न थाले पुजा
धनकुटा,२१ बैशाख । लामो समय देखि खडेरी परेर बाली लगाउन समेत ढिला हुदै गएपछि धनकुटाका विभिन्न सुख्खा क्षेत्रका किसान पानी माग्दै मार्गा र संसारी पुजा गर्न थालेका छन् ।
बर्खे बाली लगाउने समय मध्य भई सक्दा समेत बर्षा नभए पछि पानी माग्नका लागी मार्गा र संसारी पुजा गर्न थालेका हुन् । चैत मै खेती लगाउन सुरु गर्ने यहाँका किसान यस बर्ष बर्षा नहुंदा बैशाख लाग्दा समेत मकै बाली लगाउन नपाउँदा आफ्नो आस्थाका स्थान दोभान, देवि थान लगायतका स्थानमा पानी माग्दै वलि दिने तथा पुजा गर्न थालेका हुन् ।
पानी माग्न मार्से खोला दोभान झरेका स्थानिय खड्ग बहादुर मादेनले भने बर्खे बाली लगाउने समय हर्किदै गयो पानी परेको छैन,देवी देवताको पुजा गर्दा पानी आउला कि भन्ने मान्यता र पहिले पनि लामो समय सम्म खडेरी पर्दा पुजा गर्दा पानी पर्ने गरेका कारण पानी माग्न आएको बताए ।
अर्का स्थानिय जंग बहादुर लिम्बुले भने लामो समय सम्म पानी नपरेको हुदाँ पुरानो चलन अनुसार गाउँ सबै मिलेर पुजा गरी पानी मागेको बताए ।
समयमा वालि लगाउँन नपाउँदा तथा फलफूलमा समेत फूल फूल्नेर चिचिला लाग्ने समयमा पानी नपाए उत्पादन राम्रो नहुने र त्यसले किसान लाई नै घाटा लाग्ने भएकोले पनि विश्वासका आधारमा पानी माग्ने चलन चलि आएको धनकुटा नगरपालिकाका राम बहादुर राईले बताए ।
पर्याप्त सिँचाइ सुविधा नपाएका यहाँका किसान बाली लगाउनका लागि आकासे पानी मै भर पर्नु पर्ने बाध्यतामा रहेका छन् । यस क्षेत्रमा फलफूल र खाद्यन बालीका लागि प्रसस्त जग्गा भए पनि सिँचाई सुविधा नहुदाँ जग्गा बाँझै रहने गरेको राईको भनाई छ ।


