स्वीजरल्यान्डबाट…
–ध्रुव एलेक्स
कविता
जेनेभा तालको माछा तार्दै – तार्दै
डोर्मेरो होटलमा तिमीसँग वाइन पिउला
रिअस नदीको सुकिलो पानीमा खेलौला डल्फिनले जसरी
एउटै साबुनले नुहाएर डिस्को जाउँला
अर्फेलेक्समा आराम गरेर निदाउँला
सपना एउटै देखौला ।।
अजवाइनको झोल पिएर
स्याउ भन्दा उर्वर माटोमा लडिबढी गर्दै
होलिडेजहरुमा म्याटरहर्न हिमालसँगै सेल्फि खिचेर
करेलाबारीको तितो हावासँगै
तिमीसँग बसेर गुलिया चुम्बन गरौला
स्वीस पठारहरुबाट बन्जी हान्दै
डाडोखोलो हल्लिने गरि चिच्याँउला
आखिर के छ र जिन्दगीमा परेको बिअरौला ।
बसेल पर्वहरुमा
गितारका तारहरुमा तिमीलाई उनेर
तिम्रो लालुपाते कम्मर लाजले मुजा – मुजा पर्ने गरि
थप्पडी बजाउला
अलफ्रनमा तिम्रा ओठहरु राखेर
हररात तिमीलाई विनायोका धुनहरु सुनाउदै
तिम्रो उत्तजेनालाई जुनको रकेटमा उडाई घुमाइदिउला ।
रोचे टावरबाट बर्ज खलिफा देखिने गरि
आखाँमा टेलिस्कोप राखेर हेरौला साझँमा
विहानीमा अस्रट्रिया , फ्रान्स र जर्मनीहरुले
देशको नाइटो फुट्ने गरि गरेको निर्माण र विकासको
पुर्वाधार को उद्यमशीलता हेरौला
विज्ञहरुको सुचीमा रहेका वैज्ञानिकहरुको नोटकपीको
योजना पढौला
योजना सफल नहुँदासम्म नलागेको निन्द्राका
देशभक्ति कथा पढौला ।
अल्पस रेन्जेजहरुको वारपार दृष्यमा
भेडाबाख्रा चराएजस्तै घुमाउला विश्वका पर्यटकहरु
आफेैले आविष्कार गरेको वर्लड वाइड वेबमा
संसारलाई जोडेर देखाइदिउला कृषि , व्यापार ,स्वास्थ ,यातायात र सुशासनको डिक्सनरी
हेरुन ” ओ ह्वाट्स अ हेल “भन्दै तालुमा पन्जा राखेर
सिकुन ” ल ” के हो ?
विधिको शासन हो के ?
नसिकि नरहुन् सामाजिक न्यायका आधारभूत सिद्धान्त
भनेर स्वीजरल्यान्ड बनिएको होइन हजुर
गरेर बदलेका होउन गरेर ।
-पाख्रिबास-४,धनकुटा


