कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने?

काठमाडौं- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका  डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्‍याउँदा उनको मृत्यु भएको बोहराले बताए।

त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर अन्य ६ जना घाइते रहेका छन्।

घाइते हुनेमा कैलाली जानकी गाउँपालिका-४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी गाउँपालिका-६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खिमा कडायत रहेका छन्।

कसरी पर्छ चट्याङ?

विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ। तिनै बादल जुधेपछि ठूलो आवाज निस्किने गरेको हो।

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। उनका अनुसार यो जमिनसम्म आउने हो भने सारा सखाप हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले गर्ने हो भौतिक र मानवीय क्षति।

‘त्यो आगोको मुस्लो आएर घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यो पानीले निभाउन सकिन्न।’

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूला रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।

चट्याङबाट बच्न के गर्ने?

प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको वायरिङमा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले बाहिरबाट आउने करेन्टलाई परै फाल्दिन्छ। अर्थिङमा एक प्रकारको इलेक्ट्रिक यन्त्र जडान गरिएको हुन्छ।

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट बच्नु हो। ठूला रूखका फेदमा नबसेको राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिकल यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ‘घरमा जडित सर्किटहरू बेला-बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि कुनै-कुनै बेला टावरमा क्षति गरिरहेकै हुन्छ चट्याङले। यस्ता टावरको वरपर रहने बस्ती बढी जोखिमपूर्ण हुन्छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।