जालपादेवी क्याम्पसलाई विनियोजित बजेट किन भुक्तानी गर्न सकिएन ? पाख्रीबास नगरपालिकाले सार्बजनिक गर्यो कारण…
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ४ मा स्थित जालपादेवी क्याम्पसको रकम निकासा नभएपछि विवाद चर्किंदै गएको छ ।
विवाद चर्किएपछि स्थिति तनावपूर्ण समेत भएको थियो । सामाजिक संजालमा एक अर्का विरुद्द आरोप-प्रत्यारोपको सिलसिला जारी रहंदै गर्दा पाख्रीबास नगरपालिकाले प्रेस विज्ञप्ति सार्बजनिक गरेर आफ्नो धारणा सार्बजनिक गरेको छ ।
नगर प्रमुख ज्ञान बलदुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा के कारणले क्याम्पसलाई विनियोजित रु १० लाख रकम उपलब्ध गराउन सकिएन ? उल्लेख गरिएको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :
सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा सादर अनुरोध,
पाख्रीबास नगरपालिकाको गहनाका रुपमा रहेको एकमात्र उच्च शिक्षा हासिल गराउने संस्था श्री जालपा देवी क्याम्पस हो । यस क्याम्पसको स्थापना गराउने, क्याम्पसको शुरुवाती व्यवस्थापन गर्ने संस्थापक अध्यक्ष म आफैं हुँ । यसलाई फलाउने फुलाउने जिम्मेवारी मेरो जीवनकाल भरि जीवन्त रहनेछ । तर केही दिन अघिदेखि सामाजिक सञ्जालमा मेरो चरित्र हत्या हुनेगरी जालपा देवी क्याम्पसलाई रकम नदिएको र शैक्षिक संस्था बिगार्न खोजेको भन्ने तथ्यहीन अफवाह फैलाइरहेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
पछिल्लो समयमा श्री जालपा देवी क्याम्पस व्यवस्थापन समितिको १४ वटा बैठक मध्ये १३ वटा बैठक उपाध्यक्षको अध्यक्षतामा बसी प्राध्यापकहरुको नियुक्ति, क्याम्पस प्रमुखको नियुक्ति लगायतका आर्थिक दायित्व सिर्जना हुने निर्णयहरु भएको र कार्यक्रम रकम भुक्तानीको मागको लागि मात्र अध्यक्षको उपस्थितिमा बैठक बसेको देखिदा क्याम्पस व्यवस्थापन समितिको अध्यक्षले आफ्नो पदीय जिम्मेवारी पूरा नगरी भागेको देखियो, जसले शैक्षिक गुणस्तर कमजोर बनाएको देखियो ।
चालु आ.व. २०८०/०८१ को लागि बाहौ नगरसभाबाट क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम संचालनको लागि रु. १०,००,०००/- (अक्षरेपी रु दश लाख मात्र) विनियोजन भएपश्चात क्याम्पस व्यवस्थापन समितिले २०८१ साल जेठ २९ गतेसम्म अर्थात आ.व. शुरुभएको करिब ११ महिना सम्म कार्यक्रम संचालनको सम्बन्धमा कुनैपनि किसिमको जानकारी नआएको र मिति २०८१/०२/३० गतेका दिन श्री जालपा देवी क्याम्पस व्यवस्थापन समितिले मिति २०८१/०२/२५ गतेको निर्णय सहितको प्रस्तावना स्वीकृतिको लागि पेश गर्नुभएकोमा यस कार्यालयको दर्ता चलानी शाखाको दर्ता नं. ६४७४ मिति २०८१/२/३० मा दर्ता भएपश्चात मात्र श्री जालपा देवी क्याम्पसलाई शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम आवश्यक रहेको रहेछ भनी हामी नगरपालिका परिवारलाई महशुस भयो ।
तत्पश्चात मिति २०८१/०३/०४ गते यस कार्यालय र क्याम्पस प्रशासन बिच द्विपक्षीय सम्झौता भई शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन भएकोमा मिति २०८२ / ०३ / १३ गते अर्थात सम्झौता भएको ९ दिनमै भुक्तानी माग गर्न जालपा देवी क्याम्पसमा कार्यरत प्राध्यापकहरुको २०८० साल आश्विन १ गतेदेखिको हाजिरी विवरण संलग्न राखी प्रचलित कानुनको बर्खिलाप हुनेगरी कागजातहरु पेश गर्नुभएकोमा सो कागजातहरुको आधारमा मात्र भुक्तानी दिन नसकिने जानकारी दिइएकोमा जसरी भएपनि पूर्ण भुक्तानी दिनैपर्छ भन्दै शुरु शुरुमा जालसाझीपूर्ण तरिकाले र पछि सम्भव नभएपछि हप्कीदप्की गर्दै भुक्तानी लिने मनासयले अराजक र उदण्ड तवरले राष्ट्रसेवक कर्मचारीलाई गाली गर्ने धम्की दिने, काम कार्बाहीमा बाधा पुर्याई सेवा प्रवाहमा खलल पुर्याउने, कार्यालयमा तालाबन्दी गर्ने जस्ता अत्यन्त घृणित कार्य जालपा देवी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वृष बहादुर राईले गरेको र निज विरुद्ध आवश्यक कार्बाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिई सकेको जानकारी समेत गराउदै क्याम्पस प्रशासनले समयमै कार्यक्रम संचालन प्रकियाको थालनी गरी सम्पन्न नगर्दा भुक्तानी दिन नसकिएको जानकारी गराउदछौ ।
तसर्थ क्याम्पस प्रशासन तथा समिति मार्फत कार्यक्रम संचालन प्रक्रिया समयमै पुरा गरी विधिपूर्वक आउनुहोला भन्दै अब उप्रान्त समयमै कार्यक्रमहरु सञ्चालन गरी प्रचलित ऐन, कानुन र विधिलाई सम्मान गरिदिनुहुन क्याम्पस प्रशासनलाई अनुरोध गर्दछु ।



