धनकुटामा समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी सम्मानित
धनकुटा । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले तोकिएको समय भित्र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीहरुलाई सम्मान गरेको छ ।
आयोजनाले आज एक कार्यक्रमका वीच चालु आर्थिक वर्ष भरिमा संचालित योजनाहरु मध्ये तोकिएको मापदण्ड भित्र गुणस्तरीय काम गरेको भन्दै निर्माण व्यवसायीहरुलाई सम्मान गरेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले निर्माण कम्पनीका संचालक तथा प्रतिनिधिलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यसम्पादन मूल्याङ्कनको आधारमा छथरजोरपाी गाउँपालिका भित्र इमजेन्सी सेल्टर निर्माण कार्य सम्पन्न गर्ने महालक्ष्मी कन्स्ट्रक्सन धनकुटा, तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग नगरपालिका वडा नं. ४ मध्यपहाडी राजमार्ग ढलेवर हुँदै वडा नं. ४ वडा कार्यालयबाट डाँडाखर्क जाने सडक स्तरोन्नत्ति कार्य सम्पन्न गर्ने केएसवाई कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. काठमाडौं, धनकुटा नगरपालिका वडा नं. ६ स्थित सहिद भीमनारायण स्मृति प्रतिष्ठान भवन निर्माण सम्पन्न गर्ने लकान्द्री बन्धु कन्स्ट्रक्सन एण्ड सप्लायर्स, धनकुटा, तेह्रथुमको म्याङलुङ्ग नगरपालिका वडा नं. वी.पी स्मृति भवन निर्माण सम्पन्न गर्ने लायन कन्स्ट्रक्सन सुनसरी, संखुवासभाको खाँदवारी नगरपालिका स्थित भैरेटार–पिप्ले–खोरन्डे सडक स्तरोन्नत्ति गर्ने ओमबुद्ध÷महागौरी जे.भी दोलखा र यस आयोजना कार्यालयबाट सञ्चालित विगत लामो समय देखि रुग्ण रहेका विभिन्न ९ वडा स्वास्थ्य चौकीहरुको निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरेको विरुवा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौ छन् ।
त्यस्तै सोही अवसरमा कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राविधिक तथा प्रशासन तर्फका दुई जना कर्मचारीलाई समेत सम्मानित गरिएको थियो । सम्मानित हुनेमा इञ्जिनियर प्रमानन्द मेहता र कम्प्यूटर अपरेटर दिवाकर देउजा रहेका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले चालु आर्थिक वर्षमा एक सय भन्दा बढी योजनाहरु कार्यान्वयन गरिएको बताए । उनले स्वास्थ्यतर्फ रुग्ण रहेका १४ वटा योजनाहरु निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको थियो । जसमध्ये ७ वटा धनकुटा जिल्ला अन्र्तगत रहेका छन् । आयोजनाको धनकुटा सहित भोजपुर, संखुवासभा र तेह्रथुम कार्यक्षेत्र रहेको छ ।
कार्यालय मार्फत् चालु आर्थिक वर्षमा १ अर्व १७ करोड रुपैया खर्च गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो । कार्यालयको वित्तिय प्रगति ८४ प्रतिशत रहेको छ ।




