धनकुटाका कृषक भन्छन् : जंगली जनावरबाट बाली जोगाउनै हैरान
धनकुटा । जंगली जनावरले बाली सखाप पार्न थालेपछि धनकुटा जिल्लाका कृषक हैरान भएका छन् । नजिकैका सामुदायिक वनबाट दिउंसै हुलका हुल बांदर आएर बाली सखाप गर्ने गरेकाले आफूहरुलाई बाली जोगाउन हैरान भएको धनकुटाको छथरजोरपाटी गाउँपालिकाका कृषक कर्णबहादुर लिम्बुले बताए ।
दिउँसो बांदर र ढेडु तथा रातको समयमा लाग्ने अन्य जंगली जनावरका कारण किसानलाई बाली जोगाउन हैरान भएका लिम्बुको भनाइ छ । यहांका कृषकको जीविकोपार्जनको मुख्य माध्यम खेतीनै हो लिम्बुले भने ।
बारीमा लगाईएको मकै,सुठुनी, पिँडालु, बोडी, दाल, बदाम जनावरवाट बचाउन मुस्कील रहेको धनकुटा नगरपालिलाका अर्को किसान रामकुमार राइको भनाई छ । खेतीकालागि समयमै मल, सिंचाई, रोगकिराको नियन्त्रणका लागि औषधी उपकरण र प्राविधिक सेवाका साथै कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखि कृषि पेशा गर्दे आएका गाउँलेहरुका लागि बन्य जन्तुको ज्यादती थप टाउको दुखाईको बिषय बनेको किसान दुखेसो गर्छन् ।
सियोमा मकै छरेको दिनबाट जनावर खेदाउँदा समस्या भएकोले जंगली जनावरको व्यावस्थापन सरकारी निकायबाट हुनु पर्ने किसानको भनाइ छ ।


