चौविसे थुमको इतिहास पुस्तकको परिचर्चा
धनकुटा,३२ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धनकुटाले प्रकाशन गरेको ‘चौविसे थुमको इतिहास नामक पुस्तकको फोनिजको २५ औं स्थापना दिवस रजत वर्ष समारोहको अवसरमा परिचर्चा गरीएको छ ।
चौविसे गाउँपालिकाको सहयोगमा फोनिज धनकुटाले प्रकाशन गरेको पुस्तकमा चौविसे गाउँपालिकाको इतिहास समेटिएको छ । चौविसे गाउँपालिकामा रहेका विभिन्न थुमको नालीबेली समेटिएको छ । चौविसे गाउँपालिकामा बसोवास गरेका लिम्बू र मगर समूदायको इतिहास समेटिएको छ । पुस्तकको परिचर्चा नेपाल वुद्धिजिवि परिषद धनकुटाका अध्यक्ष जेपी भुजेल र विष्णु सिंह लिम्बूले गर्नु भएको थियो ।
पुस्तकमा धनकुटाको चौविसे गाउँपालिकामा रहेका विभिन्न क्षेत्र इतिहास र बसोबास समेटिएको छ । पुस्तक १ सय ६४ पेजमा समेटिएको छ । पुस्तकमा विशेषगरि लिम्बू र मगर समुदायको इतिहास समेटिएको परिचर्चाकार भुजेलले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि चौविसे गाउँपालिका अध्यक्ष तथा राजकुमार चेम्जोङले पुस्तकमा चौबिसेको सबै बिषय समेट्ने प्रयास भए पनि नसकिएको र आगामी दिनमा चौबिसेका छुटेका विषय लाई समेत समेट्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै कार्यक्रममा फोनिज धनकुटाका सचिब स्वर्गिय पूर्णकुमार चौधरीको स्मृतिमा ३ लाखको अक्षय कोष घोषणा गरिएको छ । त्यस्तै चौधरीका छोराछोरीको पढाइ खर्चका लागि अक्षयकोषको व्याजबाट छोराछोरीको लागि कक्षा १२ सम्मको पढाइ खर्च बेहोरिने फोनिज धनकुटा अध्यक्ष विनु चेम्जोङले जानकारी दिनुभयो ।
कार्यक्रममा कवि, लेखक, साहित्यकार, विश्लेषक, जनप्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको थियोे ।




