धनकुटामा चाडपर्वमा बिशेष सुरक्षा व्यावस्था गरि कार्यान्वयनमा कडाई गरिने
धनकुटा । बडा दसैं र तिहारलाई लक्षित गरी धनकुटामा बिशेष सुरक्षा व्यावस्था गरि कार्यान्वयनमा कडाई गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवाला बीचको बैठकले हिन्दु नेपालीहरुको महान पर्व बडा दशै र तिहारमा धनकुटामा सुरक्षा व्यावस्थामा कडाइ साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
कार्यालयमा भएको सुरक्षा योजनामा उपभोक्ता तथा यात्रुहरु मर्कामा नपरुन भन्ने उद्देश्यका साथ काम गरिने भएको हो । धनकुटामा चाडवाडको बेला अप्रिय घटना हुन नदिने उद्देश्यका साथ सादा पोशाकको प्रहरी परिचालन समेत गरीने बताईएको छ । चाडपर्वमा यात्रुहरु ठगिने भएको हुँदा सवारी साधनमा समेत विशेष जाँच गरिने भएको छ ।
सुरक्षा योजनामा बजार अनुगमन, मानिसको धेरै जमघट हुने स्थानहरुमा प्रहरी परिचालन, यात्रु सहायता कक्ष स्थापना, शर्त पुरा गरेर मेला महोत्सव सञ्चालन, यातायात व्यवस्थापन लगायतका कार्यहरु गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनु भयो । यस्तै धनकुटाको भेडेटार, धनकुटा वसपार्क र हिलेमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ ।


