रंगरोगन र मर्मत सम्भारले फेरिँदैछ कैलाशनाथ शिवालय मन्दिरको स्वरुप(फोटो फिचर)
धनकुटा(पाख्रीबास) । समाजसेवीहरूको तहबाट देखभाल हुन थालेपछि धनकुटाको पाख्रीबास नगरपालिका ४ मा रहेको कैलाशनाथ शिवालय मन्दिरको स्वरुप फेरिन थालेको छ।
महान चाड दिपावलीलाई अवसर पारेर स्थानीय समाजसेवी पाख्रीबास नगरपालिका वडा नं. ५ घोर्लिखर्क (फावा) का खडिन्द्र बहादुर गहतराज,श्रीमती होम कुमारी गहतराज र छोराहरू शान्तुराम गहतराज र नवीन गहतराजको पहलमा उक्त मन्दिरमा रंगरोगन तथा सरसफाइ गरिएको हो ।
गहतराज परिवारको पहलमा मन्दिर परिसरको रंगरोगन, सरसफाइ र सौन्दर्यकरण गर्न थालेपछि मन्दिर परिसर आकर्षक बनेको छ। मन्दिर रंगरोगन तथा सरसफाइका लागि कामदार लगाउने देखि सम्पूर्ण खर्च गहतराज परिवारले नै गरेको छ ।
जिल्लाको सदरमुकाम धनकुटादेखि करिब १८ किलोमिटरमा पर्ने यस पाख्रीबास न.पा.कै मुख्य धार्मिक आस्थाको धरोहरका रुपमा रहेको यस मन्दिरको स्थापना वि. सं २०५५ मा स्थानीय समाजसेवी सेन कुमार राईको पहलमा निर्माण सम्पन्न भएको हो ।
यो मन्दिर धेरै नागरिकको आस्थाको केन्द्र हो तर पनि विगतमा केही रंगरोगनका काम भएपनि पुन: खण्डहरजस्तै बन्न लागेको अवस्था देखेपछि समाजसेवी गहतराजले मन्दिरको रंगरोगन गरी मन्दिरलाई नयाँ स्वरुप प्रदान गरेका छन् ।
पाख्रीबास न.पा. को मुटुमा रहेको यस मन्दिरमा तीज,महाशिवरात्री र अन्य पर्वहरूमा दर्शनार्थीहरूको घुइँचो लाग्ने भएपनि परिसरमा खानेपानी तथा टहराको अभाव त छँदैछ त्यसमाथि स्याहार सम्भारको अभावमा मन्दिर क्षेत्र जिर्ण बन्दै गएको छ ।
मन्दिरको पहिचान जोगाइ राख्न स्थानीय सरकार,जनप्रतिनिधि,सरोकारवाला तथा स्थानीयवासीको यस तर्फ ध्यान जान आवश्यक छ ।
हेर्नुहोस् रंगरोगन पछिको मन्दिर –
















