स्रष्टा शिव प्रधानको प्रेमाश्रुको लोकार्पण
चन्द्र मादेन आन्छन/काठमाडौ,पुष ५ । अनामनगर स्थित डालो रेष्टुरेन्टको सभाकक्षमा साहित्यिक पत्रकारसंघको आयोजनामा उपन्यासकार शिव प्रधानद्धारा लिखित प्रेमाश्रु उपन्यासको लोकार्पण समारोह सम्पन्न भएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ द्धारा दीप प्रज्ज्वलन गरी ऊद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रेमाश्रु एवं शारदा मासिकका सम्पादक विमल भौकाजीले गर्नु भएकोथियो ।
प्रेमाश्रु पुस्तकका टिप्पणीकार एवं समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्कीले “यो पुस्तक सलल वगेको छ । सामाजिक विकृति, उत्पीडित जाति,सामाजिक रुपान्तरण, १० वर्षे जनयुद्ध, शान्ति सम्झौता, राष्ट्र प्रेम, अत्याचार, दर्दनाक वियोगान्त देखि डायस्पोरी साहित्य आदि विविध विषयलाई समेटेर लेखिएको पाठक कहिलै पढेर नथाक्ने छ । तर केहि सुद्धासुद्धि कमजोरीले होला जुन हुनुपर्ने कुनैकुनै शव्दको अर्को अर्थ पनि लागेको देखिन्छ ।” भनेर चर्चा गर्नुभएको थियो ।
त्यस्तै प्रमुख अतिथि मदनदास श्रेष्ठले आफू साहित्यनुरागी र रङ्गकर्मी भएको नाताले टिप्पणीकार कार्कीज्यूको समीक्षात्मक वर्णन सुन्दै झन्डै आँसु आयो, त्यसैले यो पुस्तक उत्कृष्ट हुनुपर्दछ भन्दै आयोजक संस्था, लेखक र लेखककी श्रीमती दुर्गा लिम्वुलाई वधाई दिनुभयो । त्यस्तै मन्तव्य दिनुहुनेमा प्रेमाश्रुका प्रकाशक भुँडी पुराणका अध्यक्ष केशव पराजुली, स्वयं कृतिकार शिव प्रधान र सभापति लेकाली हुनुहुन्थ्यो ।
पत्रकार एवं साहित्यकार प्रदीप सापकोटा द्धारा संचालन गरिएको उक्त कार्यक्रममा साहित्यकारहरु- प्रगति राई, शरद प्रधान, रुद्र अधिकारी, डिवी पालुङ्वा, गणेश पराजुली, डिआर राई, दाजु गुरुङ, चन्द्र मादेन आन्छन आदि लगायत झन्डै तीन दर्जन श्रष्टाहरुको उपस्थित रहेको थियो । स्मरण रहोस – साहित्यकार शिव प्रधानको यो प्रेमाश्रु चौथो कृति हो र यो भन्दा अघि पनि छरिएका सिन्दुर,वौलाहीको यात्रा, रुदिना जस्ता आख्यानहरु पनि चर्चामा आईसकेका सृजनाहरु हुन ।



