भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा फुड फेस्टिबल हुने
धनकुटा, ९ पुष । कोशी प्रदेश कै पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर फुड फेस्टिवलको आयोजना हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा आगामी पौष १६ देखि १८ गतेसम्म फुड फेस्टिवल आयोजना गर्न लागिएको आयोजक होटल एशोसिएसन भेडेटारले आज भेडेटारमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ ।
कोशी प्रदेशकै प्रमुख पर्यटकीय स्थल भेडेटारमा अंग्रजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिवल आयोजना हुदै आएको र यो बर्ष समेत अंग्रेजी नयाँबर्षको अवसर पारेर फेस्टिवल आयोजना गर्न लागिएको होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशोसिएसन भेडेटारले जनाएको छ ।
फेस्टिवलमा करिब ४० देखि ५० हजार भन्दा बढी आन्तरीक तथा बाह्य पर्यटक भित्राउने र करिब २ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान रहेको आयोजकको भनाई रहेको छ । यस वर्ष आयोजना हुने फेस्टिवल १२ औं संस्करणको हो ।


