कृषि मेला प्रदर्शनीमा ५३ जना किसान पुरस्कृत
धनकुटा । अंग्रेजी नयाँ बर्षको अवसरमा धनकुटाको भेडेटारमा संचालन भएको फुड फेस्टिवलको अवसरमा साँगुरीगढी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा पालिकाका ५३ जना किसान पुरस्कृत भएका छन् ।
किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको मुल्याङ्कनको आधारमा नगद सहित किसान लाई पुरस्कृत गरिएको हो । किसानको कृषिजन्य उत्पादनलाई खाद्यान्न बाली, नगदेरऔद्योगिक बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली र विविध वाली समूह विभाजन गरिएको र त्यसका आधारमा प्रत्येक वाली समूहतर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना बापत नगद सहित प्रमाणपत्र प्रदान गरिएको साँगुरीगढी गाउँपालिकाको कृषि शाखा प्रमुख राजिवकुमार पाख्रिनले बताए ।
फेस्टिवलको समापनको दिन आयोजित कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले उत्कृष्ट किसानहरुलाई नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


