देश व्यापी महिलावादी अनुपम अभियान अन्तर्गत धनकुटामा सभा तथा र्यालीको आयोजना(भिडियो सहित)
सर्मिला राई,धनकुटा ।
घर चलाउने महिलाले देश चलाउन सक्छन् ।
चौरासीमा महिला, हुनुपर्छ पहिला ।
यस्तै नारा लगाउँदै र गित गाउँदै आईतवार दिउँसो महिलाहरुको एक समूह धनकुटाको मदन चोकबाट बजार क्षेत्र तर्फ निस्कियो ।
अन्तर पुस्ता महिलावादी मञ्च (IGFF) को देश व्यापी महिलावादी अनुपम अभियान अन्र्तगत मानव अधिकारका लागि महिला, एकल महिला समूह कोशी प्रदेशको संयोजकत्वमा निकालिएको र्याली थियो त्यो ।
मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटा,महिला मानव अधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यलय, अन्तरपाटी महिला सञ्जाल,महिला पुन:स्थापना सेवा केन्द्र, दलित एकता समाज, जीवन योग प्रयोगशाला धनकुटा सहित महिलाहरुसँग सम्बन्धित जिल्लाका १३ वटा भन्दा धेरै संघ संस्थाद्धारा संयुक्त रुपमा आयोजित र्याली भिम नारायण चोकमा आएर सभामा परिणत भयो । सभामा सहभागी महिलाहरुले राज्यको हरेक तहमा संविधानले व्यवस्था गरे अनुसार महिलाहरुको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
सभामा सहभागी धनकुटा नगरपालिकाका उपमेयर भिमादेवी खनालले महिलाहरुको लागि संविधानमा जुन व्यवस्था छ, त्यो व्यवहारमा नभएको भन्दै कार्यन्वयन पक्ष एकदम फितलो भएको बताउनुभयो । उहाँले अनुपम अभियानको बारेमा आफ्नो धारणा राख्दै अभियान प्रति आफ्नो प्रतिवद्धता रहेको समेत उल्लेख गर्नुभयो ।
सभामा बोल्दै संविधानसभा सदस्य लिला सुब्बाले पुरुषवादी चिन्तनले मात्र देश नबन्ने भन्दै महिलाहरुलाई शिर्ष नेतृत्वमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो एकमुठ्ठी रगत रहुन्जेलसम्म महिलाहरुकै अधिकारका लागि काम गरिहने पनि प्रतिवद्धता जनाउनुभयो ।
अनुपम अभियानको मुख्य लक्ष न्यायिक र समता मुलक समाज निर्माणमा सहयोग पुर्याउनु रहेको भन्दै अभियान्ता तथा आइजिएफएफका संस्थापक सदस्य शरु जोशीले २०८० देखी २०८४ सम्मका लागि देशव्यापी रुपमा यो अभियान शुरु गरिएको स्पष्ट पार्नुभयो । उहाँले यो अभियान अन्र्तगत अहिले आफुहरु एकजुट हुने प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।
मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेशका अध्यक्ष मिना तुम्बा राईले महिलाहरुको हक अधिकारका लागि निरन्तररुपमा यो अभियान सधै चलिरहने बताउनुभयो । पछिल्लो समय कतिपय कामहरुमा क्षामताको कुरालाई जोडेर महिलाहरुलाई पछि पार्ने काम भईरहेको भन्दै उहाँले महिलाहरु आफैपनि शीप,उत्पादन र आम्दानी सँग जोडिएर आर्थिक रुपमा अब्बल हुन पर्ने धारणा राख्नुभयो ।
त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सुमना तिम्सिनाले जबसम्म महिलाहरु निर्णायक तहमा पुग्दैनन् तबसम्म यो अभियानले निरन्तरता पाउने बताउनुभयो । र्याली तथा सभामा महिला सँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनीधहरुको सहभागिता थियो ।


